काठमाडौं, २९ जेठ । आफूले दिएको विवादित अभिव्यक्ति फिर्ता लिने नेपाली कांग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले बताएका छन्। शनिवार विहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा आफूले अभिव्यक्ति फिर्ता लिने उनले बताएका हुन्।
विहान ११ बजे बस्ने बैठकमा मैले सभामुखसँग समय मागेको बताउँदै वैद्यले भने, ‘अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्छु।’ प्रधानमन्त्रीका पछिल्ला व्यवहारले भावनामा बहकिएर आफूले त्यस्तो अभिव्यक्ति दिन पुगेको भन्दै उनको प्रष्टिकरण छ।
प्रधानमन्त्री ओलीमा आफूबाहेक अरूलाई नस्वीकार्ने प्रवृत्ति बढ्दै गएको दावी गर्दै वैद्यले भने, ‘संविधान र कानून सबै मिचेर हिँड्नुभएको छ, त्यसैले मैले बोल्ने क्रममा भावनामा बहकिएको हुँ।’
शुक्रबार प्रदेश सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा वैद्यले प्रधानमन्त्री केपी ओलीले मनलाग्दी गरेको भन्दै नाथुराम गोड्से आवश्यक परेको र कोही बन्न तयार नभए आफैँ बन्ने बताएका थिए। चौतर्फी आलोचना भएपछि कांग्रेसले उनलाई तत्काल अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न निर्देशन दिएको छ।
नाथुराम गोड्से महात्मा गान्धीलाई गोली हानेर हत्या गर्ने व्यक्ति हुन्।


























