पुस्तक समीक्षा “राजवृक्षको हाँगो वरिपरि घुम्दा” : ध्रुव शर्मा

A notice in Nepali from Mechinagar Ward No. 10

हाल पचरुखी चोक इटहरी, सुनसरी निवासी कथाकार टीका मिलनको “ राजवृक्षको हाँगो “ शीर्षकको कथा संग्रह पढ्ने मौका पाएँ । फूटकर कथा कविताको विधामा लामो समय देखि निरन्तर कलम चलाई रहने नाम हो टीका मिलन। कथाकार टीका मिलनबाट विभिन्न समयमा लेखिएका कथाहरुको संगालो राजवृक्षको हाँगो पढीसकेपछि मेरो मनमा उब्जिएका अनि मलाई लागेको केही नितान्त मेरो व्यक्तिगत धारणा र विचार यहाँ निम्न अनुसार उल्लेख गर्न चाहन्छु :

१ . राजवृक्षको हॉगो कथा संग्रहमा समेटिएका एक दर्जन कथाहरु मध्ये “ सतीको सराप “ नामक कथा बुढा पाकाहरुको जनजिब्रोमा आधारित ऐतिहासिक लोक कथाको रुपमा स्थापित भईसकेको कथा हो । यस्ता कथाहरु आजका बाल वालिकाहरुले बिरलै मात्रामा आफ्ना अग्रजहरुबाट सुन्न पाउँछन् । यस्ता किंबदन्ति कथाहरुलाई हराउन र मेटीन पक्कै दिनुहुदैन । त्यसैले होला कथाकारले उक्त कथालाई पनि यहाँ समाबेस गरिदिएको छ ।

२ . कथाकार ले राजवृक्षको हाँगो कथामा रेशम र झुमुलाई बिद्रोही, ईमानदार र परिश्रमी पात्रको रुपमा चित्रण गरेकोपाईन्छ; किनकी गोठालो जॉदा बसेको उनीहरु को ठूलो र सानो जात बिच भएको गोठाले माया प्रेमलाई जातीय बन्धन, रुढीबादी र परम्परागत समाजको पर्खालले रोक्न, छेक्न सकेन । उनिहरुले घर परिवार, समाजसँग बिद्रोह गरेर जातीय विभेदको अन्त्य गर्न सफल भए । उनीहरु आफ्नो गाउँ ठाउँ, समाज छोडेर संघर्ष गर्दै मधेस अनि मुग्लान ( भारतको असाम) पुगे, केवल आफ्नो माया, ममता र प्रेमको रक्षार्थ । आफ्नो ईमानदारीता, मेहनत, लगनशीलताले गर्दा नै उनीहरु बिरानो मुलुकमा पनि सफल व्यवसायिक बन्न पुगे । अन्त्यमा उनीहरु आफ्नो गाउँ फर्किएर आफूहरू लाई घृणा, तिरस्कार गर्ने त्यही समाजमा सबैको मन जितेर सबैको सहयोगी अनि सफल व्यवसायी र ठूलो चन्दा दाताको रुपमा स्थापित भए । यस कथामा हाम्रो समाजमा हुने जातीय विभेदको यथार्थ घटनालाई रोचक र मार्मिक ढंगले चित्रण गर्न कथाकार सफल भएको मैले ठानेको छु । ‘

३ . मिति नाघेको चिट्ठी, नामक कथा पनि रोचक र अत्यन्त मार्मिक छ । यस कथाका पात्रहरु, शारदा, शारदाको मामा र ‘म ‘ नामक अमुक पात्रहरुको वार्तालाप अनि व्यवहार सशक्त र जीवन्त छ । शारदालाई कथाकारले यस कथामा ज्यादै संस्कारी र व्यवहारिक पात्रको रुपमा चित्रण गरेको छ भन्दा पक्कै अत्युक्ति नहोला, किनकि साँझमा आफ्नो घरमाआएको अपरिचित पाहुनालाई भगवान सरह मानेर उनले गरेको मान मर्यादा, सत्कार र आफ्नो वृद्ध मामाको रेखदेख र पालनपोषणप्रति शारदा नामक पात्रले गरेको व्यवहारलाई सम्मान गर्नै पर्छ । हाम्रो समाजमा यस्ता असल र संस्कारी नारीहरु धेरै छन् र उनीहरुको प्रतिनिधित्व यस कथामा शारदाले गरेको अनुभव हुन्छ । शारदा को घरमा साँझको समयमा बास माग्न आएको अपरिचित परदेशीले बास बसेर खाना खाए बापतको पैसा दिंदा शारदाले उक्त पैसा लिन ईन्कार गर्दै पैसाको सट्टा पवित्र माया ममता माग्दै गरेको संवाद यहाँ साच्चै मार्मिक छ । यस कथामा शारदा र म पात्र विचको पवित्र माया, प्रेमलाई के मिति नाघेको चिठीले मात्रै वियोगात्मक मोडमा पुर्याई दिएको हो त ?

४ . कल्पनाको गाउंँ‘ कथामा कथाकार स्वयंले हो वा कथा भित्रको ‘ म ‘ पात्रले हो निकै मिठो कल्पना गरेको देखिन्छ । क्याम्पस पढ्दा कल्पनासंग भएको भेट, लगाएको माया , खाएको कसम, गरेको बाचा आदि ईत्यादि कुराहरु मनमा खेलाउंदै कल्पना संग छुट्टीएको लामो समयपछि जागिर खान कल्पनाको गॉउमा पोस्टिंग भएर जाँदा ‘ म ‘ पात्रले आफूलाई नै कल्पना मा हराएको, वास्तविक कल्पनासँग भेट्न डराएको , अनि आफैलाई मनोद्वन्द्वमा फसाएको देखिन्छ ।पछि, विस्तारै कल्पनाको बारेमा यथार्थ कुरा थाहा पाएपछि ‘ म ‘ पात्रको मनोदशा र अवस्थालाई कथाकारले निकै मेहनत गरेर ज्यादै रोचक र मार्मिक ढंगले यहाँ चित्रण गरेको छ । यस कथामा पनि कथाकार ले कथाका पात्रहरु कल्पना र ‘ म ‘ को माया ममता, प्रेमलाई सफल हुन नदिएर वियोगात्मक अवस्थामा छोडीदिएको छ ।

५.‘ बाबा ‘ नामक कथामा कथाका सर्जकले चित्रण गरेजस्तो ढोंगी, आडम्बरी, गतिछाडा र अनैतिक चरित्रका साधुबाबा र साधुनी माताहरू हाम्रो समाजमा , यदाकदा भेटिन्छन् । सभ्य र भद्र समाजमा बिकृति र विसंगति फैलाउने, आपराधिक र अनैतिक गतिविधि गर्ने यस्ता साधु बाबा र साधुनी माता जस्ता समाज का धमीरा प्रति सबैले सचेत र सजग हुनै पर्छ ।काली बाबा जस्ता बाबा बाट साधुको भेषमा धार्मिक आश्रममा हुने यस्ता अनैतिक गतिविधिहरुलाई ज्यादै मार्मिक र रोचक ढंगले चिरफार गर्न यस कथामा कथाकार सफल भएको मैले महसूस गरेको छु ।

६ .’सानीमा ‘ शीर्षकको कथामा पनि कथाकारले हाम्रो समाजको पूरानो अनि साँघुरो सोच , बिकृति र विसंगतिलाई राम्ररी चित्रण गरेको छ । मितबा जस्ता पचास उमेर काटीसकेका व्यक्तिले सन्तानको रहरमा कलिलो उमेरकी पात्र सँग अनमेल विवाह गरेको, ओमे काका जस्ता अर्काको रिस र डाहा गर्ने, नचाहिने कुरा लगाएर परिवारमा झैझगडा गराउने, अर्काको सम्पत्ति हडप्ने, यस्ता कु – पात्र हाम्रो समाजमा धेरै छन् ।समाजमा गरेको गलत कार्य र अपराध कै कारणले होला ओमे काका मानसिक सन्तुलन गुमाएर घरभित्रै थुनिएर सजाय भोग्न वाध्य छन् । समाज मा हुने , घट्ने यस्ता विसंगति र बिकृतिको बारेमा यस कथामा कथाकारले मार्मिक ढंगले चिरफार गरेको छ ।

७ .’मुसाले तर्सायो ‘ शीर्षक कथा पनि ह्रदयश्पर्सी र मार्मिक छ । यस कथामा रमेश र सावित्री विचको असफल प्रेमलाई कथाकारले ज्यादै रोचक ढंगले प्रस्तुत गरेको छ । पुरुष प्रधान समाजमा रमेशले सावित्री प्रति गरेको अन्याय,अत्याचार, शारीरिक र मानसिक शोषण अनि रमेश प्रति सावित्रीको आक्रोष, घृणा र रणचन्डीको रुप वास्तवमा यथार्थ देखिन्छ ।रमेश को बारेमा विभिन्न तर्कना , सोचमा डुब्दा डुब्दै सावित्री निदाउन पुग्छिन् र सपनामा अप्ठ्यारो भिरको बाटो हुदै रमेशको पछि पछि लाग्छिन् । रमेशलाई लखेट्दै जॉदा उनी भीरबाट खसेर सपना मै चिच्याउंछिन् । उनको चिच्याहट सुनेर बाबुले के भयो भनेर सोध्दा ‘ मुसाले तर्सायो ‘ भन्ने जवाफ दिन्छिन् । के वास्तवमा सावित्रीलाई मुसाले तर्साएको थियो त ? पक्कै थिएन, यो त आफूलाई धोखा दिने रमेश प्रति उत्पन्न भएको उनी भित्र गुम्सीएको घृणा, प्रेम र विछोडको प्रतिबिम्बको अमूर्त झझल्को थियो ।

८ . ‘धर्मसंकट ‘ नामक कथामा ग्रामीण परिवेशमा घॉस दाउरा गर्दा गर्दै साईला र उजेली बिचको माया प्रेमलाई कसैको गोठाले जीवन मा वास्तविक मेल खान सक्ने गरी सजिव ढंगले कथाकारले यहाँ चित्रण गरिदिएको छ । यस कथाका पात्रहरुको संवादमा मिठास र मायालुपन छ । उनीहरुको भेटघाट, व्यवहार सॉच्चै रमाईलो छ । कथा पढ्दै जॉदा उनीहरुको जोडीलाई माया प्रितिमा हराएका चखेवाको जोडी सँग तुलना गर्दा कुनै अत्युक्ति नहोला । उनीहरु आफ्नो चोखो र पवित्र मायालाई कतै निश्चित टुंगोमा पुगेर थान्को लगाई भविष्यमा आनन्दमय दाम्पत्य जीवन बिताउन प्रयासरत रआतुर देखिन्छन् ।

९ . ‘ हर्के आफै एउटा कथा’ शीर्षकषको कथा पनि ज्यादै मार्मिक र हृदयशस्पर्सी छ । कथा पढ्दै जॉदा पाठकवर्ग स्वयं हर्केको पीड़ा, दुःख दर्दमा हराउन पुग्छन् । हर्केले जीउनको लागि धेरै संघर्ष गरेको छ । सानै उमेर देखि नै निधारमा नाम्लोको बरियो र पिठ्यूमा साहुको थामि नसक्नुको भारीको बोझ बोकेर हिड्न हर्के सिपालु भईसकेको हुन्छ । हर्के कहॉगएन , के काम गरेन उस्ले ! धामी, झाँक्री भएर झारफुक गर्ने, जोखाना हेरेर अरुको भविष्य बताउने कामदेखि लिएर, कहिले कसैको कुयंर बारीमा हराउने त कहिले कसैको गोठमा गोठालाको रुपमा देखिने जस्ता सबै कामको अनुभव संगालेको छ हर्के ले । बिचरा हर्के, ढ्याड्ग्रो ठोकेर जोखाना हेरेर अरुको भूत भविष्य बताउन सक्ने भएपनि हर्केको विद्याले आफ्नो जन्मस्थान, परिवार, आफन्त अनि आफू स्वयं को भविष्य देख्न र पत्ता लगाउन सकेको थिएन । तर कथाको अन्त्यमा ढिलै भएपनि हर्केलाई आफन्तजनसंग भेट गराईदिएर हर्के स्वयंको जीवित ईतिहास लाई कथाकारले न्याय दिलाई सुखद मोडमा छोडीदिएको अनुभूति हुन्छ ।

१०. आमा ‘ नामको कथा ग्रामीण भेगको हाम्रो समाजमा यदाकदा देखिने, सुनिने भोगिने घटनाको यथार्थ प्रतिबिम्ब हो । यस कथामा कथाकारले हाम्रो समाजमा महिला माथि हुने विभेद, अन्याय, अत्याचार , हिंसा र मानसिक यातनालाई स्पष्टरुपमा उजागर गरेको देखिन्छ । हाम्रो गॉउ घरमा कैले र उस्का सहयोगी जस्ता कुपात्रहरुबाट महिलाहरु सुरक्षित छैनन् । महिलामाथि यस्ता दुर्व्यवहार, हिंसा अन्याय र अत्याचार गर्ने कैले जस्ता पातकीहरु समाजकालागि धमिरा हुन् र यस्ता धमिराहरु विरुद्द सबै एकजुट भएर लाग्नु पर्छ । यस कथाको घटनामा प्रहरीले हस्तक्षेपगरेर निर्दोष जुठेकी आमालाई माष्टर साहेबसंग जिम्मा लगाउनबाट जोगाएको छ , तर कैले जस्तो अपराधीलाई प्रधानपन्चको ईसारामा भगाईन्छ । कैले र उसलाई भगाउने मतियार प्रधानपन्च बिरुद्द जिल्लामा उजुरी परिसकेकोले उनीहरु पक्राउ पर्दछन् तर प्रधानपञ्चलाई त्यसै छोडिन्छ भने कैले माथि के कस्तो सजाय हुन्छ वा हुंदैन थाहा छैन । धेरै बर्षदेखि बेपत्ता भएको जुठेको बाबु पनि यहाँ टुप्लुक्क आईपुगेर कैले जस्तो दुष्ट लाई सजाय दिलाउन अग्रसर हुन्छ । जुठेको बाबु यसरी अचानक आईपुगेपछि उनिहरुको पारिवारिक मिलनले ख़ुशीको सिमा रहदैन । तहस-नहस भईसकेको जुठेकीआमाको जीवनलाई कथाको अन्त्यमा सुखद मोडमा ल्याएर छोडीदिएको हुदा कथाकार लाई साधुवाद ।

११ . ‘ ओथारो ‘ कथामा पैसा कमाएर सुखी र ख़ुशी जीवन बिताउने सपना बोकेर विदेशी को भूमि रक्षार्थ युद्धको मैदानमा लड्दा लड्दै आफ्नो दुबै खुट्टा र साथीहरु गुमाएर स्वदेश फर्किएको कथाको प्रमुख पात्र केशवको दुःख, पीडालाई कथाकारले ज्यादै मर्मस्पर्शी ढंगले चित्रण गरेको छ । केशव त हाम्रो समाजबाट धन कमाउन लाहुर जाने जमातको एकप्रतिनिधि पात्र मात्र हो । केशव जस्ता कयौं नेपालीहरुले अझै पनि लाहुरे भएर विदेशी भूमिमा रगत, पसीना र ज्यान समेत गुमाईरहनु परेको छ । राज्यले आफ्ना नागरिकलाई स्वदेशमै रोजगारी दिन नसक्नु र हाम्रो गॉउठॉउ, समाजमा लाहुर जाने प्रवृत्तिलाई मान, ईज्जत, प्रतिष्ठा र प्रशस्त धनसम्पत्ती आर्जन गर्ने माध्यमको रुपमा हेरिने हुंदा यस्तो अबस्था श्रृजनाभएको हो । केशव नामको लाहुरे स्वयंलई मनोविश्लेषणात्मक ढंगले आफै बोल्न लगाएर कथाकार ले यस कथालाई सॉच्चै जीवन्त रमार्मिक बनाईदिएको छ ।

१२ . “ मास्टर “ शीर्षकको कथालाई कथाकारले निबन्धात्मक शैलीमा मनोविश्लेषण गर्दै परिवार र समाजमा देखिने, भोगिने यथार्थता अनि तितो सत्यलाई आकर्षक ढंगले प्रस्तुत गरेको छ । मास्टर समाजको लागि अगुवा हो, अविभावक हो विकाशको संवाहक हो,डाक्टर हो, न्यायाधीश हो, समय परिस्थिति र आवश्यकता अनुसार समाजमा मास्टरले सबै भूमिका निर्बाह गर्नु पर्दछ । यस्तो मर्यादित पेशामा संलग्न यस कथाका मास्टरले अभावै अभावमा जीवन बिताउनु परेको छ। दुःख र अभावमा आफू र आफ्नो परिवारले गुजारा चलाउनु पर्दा पनि आफ्नो कर्तव्य र ज़िम्मेदारी प्रति उ विचलित भएको देखिदैन । जस्तोसुकै परिस्थितिमा पनि उ आफ्नो पेशा प्रति ईमानदार र प्रतिबद्ध रहेको देखिन्छ ।

समग्रमा भन्नु पर्दा राजवृक्षको हॉगो भित्र समेटिएका सबै कथाहरु उत्कृष्ट छन् । कथाकारको लेखनशैली, प्रस्तुतीकरण, विषयवस्तु अनि भाषामा ज्यादै सरलता र मिठासपन मैले पाएको छु । कथाका प्रत्येक पात्रहरुलाई सॉच्चैनै जीवन्त रुपमा उभ्याउन सक्ने क्षमता कथाकारमा रहेको छ ।यहाँ संग्रहित सबै कथाहरु गाउं घरमा मेलापात, घॉस दाउरा, वनजंगल गर्दा समाजमा देखिएका सुनिएका अनि भोगिएका घटना विसंगति, बिकृतिहरुलाई नै सर्जकले लिपिबद्ध गरेर पाठक समक्ष ल्याईदिएको छ । यस्ता घटनाहरुलाई सजिव अनि मर्मस्पर्शी ढंगले पाठकको मन छुने गरी यथार्थरुपमा उतार्न सक्ने क्षमता कथाकारमा रहेको पाईन्छ । नेपालीहरुको जन जिब्रोबाट हराउन लागीसकेको “ झूलो, चकमक, दर्शन ढुंधगा, ढाल्नेको पात जस्ता कतिपय शब्दहरुले कथा पढ्दै जॉदा पाठकवर्गलाई गाउँले परिवेशमा आफै उभिन पुगेको अनुभूति दिलाउँछ । अन्त्यमा, कथाकार टीका मिलनबाट आगामी दिनहरुमा पनि समाजमा घटेका र घट्न सक्ने विभिन्न किसीमका सामाजिक विकृति, विसंगति जस्ता जीवन्त विषयवस्तुलाई समेटेर यस्तै मार्मिक र ह्रदयश्पर्सी स्तरिय कथाहरु साहित्यिक फॉटमा आउने नै छन् भन्ने मैले आशा लिएको छु । साहित्यिक यात्रामा कथाकार टीका मिलनलाई यात्रा गर्दा कहिल्यै थकाई नलागोस् , लेख्ने कार्यमा संलग्न हुंदा कलमको मसी कहिल्यै नसुकोस्, हातका औलाहरुले कहिल्यै अल्छी नगरी निरन्तर कलम समाईरहुन् भन्ने मेरो शुभकामनाछ ।

धन्यवाद !

— ध्रुव शर्मा काठमाण्डौ, हाल : मोर्गन हिल; क्यालिफोर्निया, अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.