५ असार, काठमाडौँ : नेपाल स्काउटले आफ्नो ७४औं स्थापना दिवस देशभरका केन्द्र, प्रदेश र स्थानीय तहहरूमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाएको छ। यस अवसरमा राष्ट्रिय प्रधान कार्यालय परिसरमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यता तथा युवा तथा खेलकुद मन्त्री एवं प्रमुख स्काउट तेजुलाल चौधरीको विशेष आतिथ्यता रहेको थियो।
प्रमुख आयुक्त देवराज घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्त्रालयका सचिव डा. हरि प्रसाद लम्साल, काठमाडौं उपत्यकाका वरिष्ठ स्काउटर, प्रशिक्षक, स्काउटर तथा रोभरसहित स्काउट सदस्यहरूको बाक्लो उपस्थिति थियो। समारोहमा आकर्षक मार्चपास, सांस्कृतिक झाँकी, विभिन्न पदक तथा सम्मान वितरणका साथै स्काउटका विभिन्न परियोजनाहरूको प्रदर्शनी समेत गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपराष्ट्रपति यादवले नेपाल स्काउटले देशको युवापुस्तामा अनुशासन, नेतृत्व र सेवा भावनाको विकास गर्न सकारात्मक भूमिका खेलेको बताउनुभयो। उहाँले स्काउटको निरन्तर प्रयासले बालबालिका, किशोरकिशोरी तथा युवायुवतीहरूलाई चरित्रवान, स्वावलम्बी र समाजसेवी नागरिकका रूपमा विकसित गर्न उल्लेखनीय योगदान पुर्याइरहेकोमा जोड दिनुभयो।
कार्यक्रमका विशेष अतिथि तथा प्रमुख स्काउट तेजुलाल चौधरीले आफ्नो कार्यकालमा नेपाल स्काउटका आन्तरिक समस्या समाधान गरी नयाँ ऊर्जाका साथ रणनीतिक लक्ष्य २०३२ हासिल गर्ने उद्देश्यका साथ अघि बढ्न वर्तमान नेतृत्व तथा सम्पूर्ण स्काउट सदस्यहरूलाई आह्वान गर्नुभयो।
प्रमुख आयुक्त देवराज घिमिरेले आफ्नो मन्तव्यमा नेपाल स्काउटलाई यो स्थानसम्म पुर्याउन भूमिका निर्वाह गर्ने सम्पूर्ण अग्रजहरूको योगदानको स्मरण गर्दै सम्मान व्यक्त गर्नुभयो। उहाँले संस्थामा मौलाएको अराजकतालाई अन्त्य गर्दै सम्पूर्ण नेतृत्व तथा सदस्यहरूलाई युवा र बालबालिकाहरूलाई समयसापेक्ष र प्रभावकारी कार्यक्रम प्रदान गर्न अग्रसर हुन आह्वान गर्नुभयो। साथै, व्यापक प्रतिकूलता र चुनौतीका बीच पनि आफ्नो नेतृत्व अविचलित रूपमा संस्थाको हित र विस्तारमा लागि परिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
समारोहमा नेपाल स्काउटको वार्षिक प्रतिवेदन २०२४/२५ सार्वजनिक गरिनुका साथै नेपाल स्काउटको अभियानमा उल्लेखनीय योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई पदकबाट सम्मान गरिएको थियो।
नेपाल स्काउटको ७४औं स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित विशेष समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल स्काउटले देशको युवापुस्तामा अनुशासन, नेतृत्व क्षमता, सेवा भावना र सामाजिक उत्तरदायित्व विकसित गर्न खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभएको छ।


समारोहमा सम्बोधन गर्नुहुँदै उपराष्ट्रपति यादवले बालबालिका, किशोरकिशोरी तथा युवायुवतीहरूलाई चरित्रवान, स्वावलम्बी र समाजसेवी नागरिक बनाउने स्काउट अभियानको निरन्तर प्रयासले राष्ट्रनिर्माणमा उल्लेखनीय योगदान पुर्याएको बताउनुभयो। उहाँले स्काउट ऐन, २०५० अनुसार नैतिक, बौद्धिक तथा सामाजिक शिक्षामार्फत युवालाई जिम्मेवार नेतृत्वतर्फ उन्मुख गराउने अभियान सराहनीय रहेको उल्लेख गर्नुभयो।

































