१० मंसिर, भरतपुर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा जुनसुकै हालतमा पनि आफ्नो पार्टीले बहुमत ल्याउनुपर्ने बताएका छन्।
पार्टीको दसौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीका लागि नभई देश र जनताका लागि एमालेले आगामी निर्वाचनमा एकल बहुमत ल्याउनुपर्ने बताएका हुन्।
‘एमालेको लागि होइन देश बनाउनका लागि ,यस देशको सार्वभौमसत्ताको रक्षाका लागि, देशमा लोकतन्त्रको रक्षाका लागि, संविधानको रक्षा र कार्यान्वयनका लागि, संविधानको गलत व्याख्यालाई जनादेशबाट सच्याएर अगाडि बढ्नका लागि एमालेले बहुमत ल्याउनपर्छ’, ’ उनले भने ।
ओलीले आफू नेतृत्वको सरकारले छोटो समयमा पनि उपलब्धिमुलक काम गरेको दाबी गरे । अल्पविकसित देशलाई विकासशील देश बनाउनका लागि आफु नेतृत्वको सरकारकै महत्वपूर्ण भूमीका रहेको बताउँदै उनले भने,‘९ वर्षभित्रै दिगो विकास लक्ष्य हाँसिल गर्नुछ, छोटो समयमा नेपाललाई समृद्ध मुलुकको रुपमा विश्वभर चिनाउनु छ ।’


























