२९ जेठ, पोखरा: गण्डकी प्रदेशको मुख्यमन्त्रीमा विपक्षी गठबन्धनका उम्मेद्वार कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनु भएको छ। प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो।

नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहनु भएका पोखरेलले आफूलाई मुख्यमन्त्री नियुक्ति गरियोस भन्दै गण्डकी प्रदेशका ३१ सांसद सहित प्रदेश प्रमुख समक्ष दाबी पेश गर्नुभएको थियो।
पोखरेलले शुक्रबार मुख्यमन्त्री दाबी गर्दै आफूलाई प्रदेश सभाका बहुमत ३१ सांसदको समर्थन रहेको पत्र प्रमुख कहाँ दर्ता गराउनु भएको थियो ।
प्रदेश प्रमुख सीता पौडेलले शनिबार ३ बजेभित्र दाबी पत्र पेस गर्न आह्वान गर्नुभएको थियो। तर उक्त समय सीमा भित्र पनि नियुक्ति नपाएको भन्दै कांग्रेस, माओवादी, जसपा र जनमोर्चाका सांसद धर्ना बसेका थिए।

नेपाली कांग्रेस संसदीय दलका ७१ वर्षीय नेता पोखरेल नवलपरासी पूर्व १ (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ।
२००६ साल मंसिर १३ गते तनहुँको तनहुँसुरमा जन्मनु भएका पोखरेल २०२८ सालमा नेपाली कांग्रेसको जिल्ला सदस्य बन्नु भयो। आन्दोलनकै क्रममा ६ पटकभन्दा बढी जेल पर्नुभएका कृष्णचन्द्र नेपाली पोखरेल त्यसअघि पनि उनी विद्यार्थी राजनीतिमा हुनुहुन्थ्यो।
२०२८ सालमा नेपाली कांग्रेस तनहुँ जिल्ला सदस्य बन्नु भएका पोखरेल २ विषयका स्नातक हुनुहुन्छ। वहाँले भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गर्नुभएको छ।
वहाँ ४८ साल पछि निरन्तर झण्डै २० वर्ष पार्टी नवलपरासी कांग्रेसको जिल्ला सभापति हुनुहुन्थ्यो । २०४८ सालको निर्वाचनमा तत्कालीन नवलपरासी–४ बाट उम्मेदवार बन्दा वहाँ पराजित हुनु भएको थियो । वहाँ त्यसपछि प्रतिनिधिसभा र संविधानसभामा उम्मेदवार बन्नु भएन ।
यसअघि एक कार्यकाल वहाँ कांग्रेसको केन्द्रीय सदस्य भएर समेत काम गर्नुभएको छ। १३ औं महाधिवेशनमा भने केन्द्रीय सदस्यमा नेपाली पराजित हुनु भयो।
चार भाइमध्ये नेपाली माइलो हुनुहुन्छ । वहाँका दाइ रामचन्द्र पोखरेल कांग्रेस केन्द्रीय कार्यालयमा मुख्य सचिव हुनु भएको थियो । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष जगदीशचन्द्र पोखरेल नेपालीका भाइ हुनुहुन्छ ।
कान्छा भाइ सुवास भने अमेरिकामा बस्नुहुन्छ । सभापति शेरबहादुर देउवा र महामन्त्री डा. शशांक कोइरालाको सहमतिमा नेपाली गण्डकी प्रदेशमा कांग्रेसका तर्फबाट संसदीय दलको नेता बनाइनु भएको थियो।


























