७ भदौ, मेचीनगर : निर्यात व्यपारमा महत्वपूर्ण टेवा ओगटेको नेपाली जडीबुटीको पूर्वी काँकरभिट्टा नाकाबाट हुने निर्यात चारवर्षयतादेखि कम हुदैं गएको छ । क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४÷०७५ देखि गत आर्थिक वर्ष २०७७/०७८ सम्मको अवधिमा हरेक वर्ष जडीबुटी निर्यात क्रमस ओरालो लाग्दैं गएको छ ।
नेपालका पूर्वी पहाडी जिल्लामा उत्पादित जडीबुटीहरुको माग पछिल्लो समय भारत र बंगलादेशमा निक्कै बढ्दै गएका कारण पूर्वीनाकाबाट जडीबुटी निर्यात निक्कै बढेको थियो । तर, आर्थिक वर्ष २०७४/०७५ देखि गत आर्थिक वर्ष २०७७÷०७८ सम्मको अवधि सम्म आइपुग्दा पूर्वी काँकरभिट्टाबाट हुने निर्यात क्रमस कम वर्षेनी घट्दो अवस्थामा रहेको कार्यालयको तथ्याङ्ले देखाएको छ ।
कार्यालय प्रमुख निमित्त वरिष्ठ बाली संरक्षण अधिकृत देविन्द्र साहुका अनुसार गत आर्थिक वर्ष २०७७/०७८ को एकवर्षे अवधिमा पूर्वी काँकरभिट्टा भएर २ करोड २५ लाख २१ हजार ७ सय रुपैयाँ मुल्य बराबरका १ सय ८७ दशमलव ६ मेट्रिक टन विभिन्न प्रजातिका जडीबुटी निर्यात भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा ३ करोड १३ लाख ७२ हजार रुपैयाँ मुल्य बराबरको ३ सय १ मेट्रिक टन विभिन्न प्रजातिका जडीबुटी भारत तथा बंगलादेश निर्यात भएको थियो । गतवर्ष निर्यात कम हुनुमा मुख्यः कारण विश्वमा महामारीका रुपमा रहेको कोभिड १९ को संक्रमण नै रहेको जानकारहरु बताउँछन् । कोभिड १९ संक्रमण नियन्त्रण र रोकथामका लागि जारी गरीएको लकडाउनका कारण सीमानाका ठप्प हुँदा निकासी समेत रोकिएको क्वारेन्टिन अधिकारीहरुको भनाई छ । ‘अघिल्लो र गतवर्षमा अपेक्षितरुपमा नेपाली जडीबुटी निकासी नहुनुमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणकालागि भन्दैं नेपाल तथा भारत सरकारले गरेको लकडाउन नै हो’ कार्यालय प्रमुख निमित्त वरिष्ठ बाली संरक्षण अधिकृत देविन्द्र साहुले भन्नुभयो ।
२०७६ को चैत २५ गतेसम्म काँकरभिट्टा नाका भएर सामान आइरहेपनि २६ गतेदेखि भारतसँग सीमा जोडिएको नेपालको पूर्वीनाका काँकरभिट्टा भारततर्फबाट एकलौटी पश्चिम बंगाल सरकारले बन्द गरेपछि यो नाका हुँदै नेपाल प्रवेश गर्ने सवै सवारीका साधन ठप्प थिए । चैत २६ देखि बैशाख २६ गतेसम्म वा ३१ दिन यो नाका पूर्णरुपमा ठप्प भएका कारण सवै सवारी साधन बन्द थिए ।
भारतका विभिन्न प्रान्तमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण बढेसँगै पश्चिम बंगाल सरकारले अघिल्लो वर्षकोे चैत २६ गतेदेखि पानीट्याँकीस्थित रानीगञ्ज नाका ठप्प पार्दा नेपाल प्रवेश गर्ने भारतलगायत तेस्रोमुलुकबाट विभिन्न सामान बोकेका मालवहाक सवारी साधनको आवतजावत शुन्य हुदाँ निर्यात नराम्ररी प्रभावित भएको व्यवसायीहरुको भनाई थियो ।
आर्थिक वर्ष २०७५/०७६ मा यो नाका भएर २ सय २९ मेट्रिक टन वा १ करोड ९२ लाख ५५ हजार रुपैयाँ मुल्य बरबारको जडीबुटी निर्यात भएको कार्यालयले जनाएको छ । यसअघिको वर्ष २०७४/०७५ को एकवर्षे अवधिमा यो नाका भएर २ करोड ३३ लाख ५५ हजार रुपैयाँ मुल्य बरारको जडीबुटी निर्यात भएको थियो । जडीबुटी निर्यात वापत मेची भन्सार कार्यालय काँकरभिट्टाले प्रतिकेजी १ रुपैयाँका दरले महसुल लिने गरेको प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माको भनाई छ । यो नाका भएर विशेष गरी चिराइतो, रिठ्ठो, पदमचाल, सतवरी, मजेठोजातका नेपाली जडीबुटी बंगलादेश र भारततर्फ निर्यात हुने गरेको क्वारेन्टिन कार्यालय अधिकारीहरुको भनाई छ ।
पछिल्लो समय भारतमा नेपाली जडीबुटीको माग बढेको भएपनि विविध कारणले यतिखेर नेपाली जडीबुटीको निर्यात भारतमा न्यून मात्र हुने गरेको छ । भारतले प्राविधिक कारण देखाएर यतिखेर नेपाली जडीबुटी पर्याप्तरुपमा माग गर्न नसकेको बताइएको छ ।
गत आर्थिक वर्ष २०७७/०७८ मा पदमचाल १४ दशमलव ५ मेट्रिक टन वा १६ लाख ६७ हजार ५ सय रुपैयाँको र रिठ्ठा ३८ दशमलव ५ प्रतिशत १७ लाख ७१ हजार रुपैयाँ मुल्य बराबरको नेपाली जडीबुटी भारततर्फ निर्यात भएको छ । चिराईतो, जटामसी, अमला, मजिठो,विस्पेजलगायतका नेपाली जडीबुटी भारत र बंगलादेशतर्फ निर्यात भएको कार्यालयले जनाएको छ । यस नाकाबाट जडीबुटी प्रशस्त मात्रामा निर्यात हुने गरेको छ । आयात भने शुन्य छ ।


























