१८ भदौ, मेचीनगर : नेपाल स्काउट मेचीनगर नगर परिषद्को शपथग्रहण तथा नगर परिषद्को बैठक भव्यताका साथ सम्पन्न भएको छ। नगर उपप्रमुख एवम् प्रमुख स्काउट मीना पोखरेल उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले निर्वाचित तथा मनोनित परिषद् सदस्यहरुलाई शपथ गराउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख एवम् स्काउट संरक्षक गोपालचन्द्र बुढाथोकीले स्काउट आन्दोलनले अनुशासित, जिम्मेवार र सामाजिक चेतनायुक्त नागरिक निर्माणमा ठूलो योगदान पुर्याउँदै आएको बताउनुभयो। उहाँले स्थानीय सरकार पनि स्काउट गतिविधिलाई आवश्यक सहयोग र समन्वय गर्न सदैव तत्पर रहने आश्वासन दिनुभयो।
समारोहलाई सम्बोधन गर्दै प्रमुख स्काउट एवम् नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले मेचीनगरमा स्काउटिङको विकासका लागि नगरपालिका सदैव तयार रहेको बताउनुभयो। उहाँले स्काउटलाई नगर विपद् व्यवस्थापन समितिमा समेत समावेश गरिएको जानकारी दिँदै स्काउट सामग्री तथा विपद् व्यवस्थापन सामग्री खरिदमा नगरपालिकाले पहल गर्ने आश्वासन दिनुभयो।
राष्ट्रिय शैक्षिक पद्धति आयुक्त (महिला विभाग) भुवन सुब्बाले स्काउटलाई शैक्षिक प्रणालीसँग जोडेर विद्यार्थीलाई व्यवहारिक सीप र नेतृत्वतर्फ अभिमुख गराउन सकिने धारणा राख्नुभयो।
कोशी प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीले हालै सम्पन्न प्रादेशिक र राष्ट्रिय कार्यक्रमहरूमा मेचीनगर स्काउटको सहभागिता प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी गतिविधि अघि बढाउन सुझाव दिनुभयो।
राष्ट्रिय प्रशिक्षक शिवकुमार पौड्यालले स्काउटलाई जीवन कौशल सिकाउने संस्था भन्दै नेतृत्व विकास, सहकार्य र स्वावलम्बनतर्फ युवालाई उन्मुख गराउन परिषद्ले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा परिषदमा प्रत्यक्ष नर्वाचित हुने स्काउट पदाधिकारीहरुको अतिरिक्त शिक्षा शाखा प्रमुख एवम् उपसचिव होमनाथ भण्डारी, मेची जनसाधरण माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रशेखर गुरागाईं, सरस्वती बालकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक शुक्रराज घिमिरे, उद्योगी बोधराज निरौला, व्यवसायी एवम् समाजिक व्यक्तित्व दिपक कार्की तथा समाजसेवी एवम् स्काउटर राजकुमार पराजुलीले समेत शपथ एवम् स्काउटको दिक्षा ग्रहण गर्नुभएको थियो ।
यससँगै सम्पन्न परिषद् बैठकले आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक बजेट समेत सर्वसम्मत पारित गरेको छ। बजेटले स्काउट गतिविधिलाई अझ सशक्त बनाउन तालिम, कार्यक्रम तथा पूर्वाधार विकासमा प्राथमिकता दिने निर्णय गरिएको छ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारी, शिक्षा शाखा प्रमुख उपसचिव होमनाथ भण्डारी, प्रदेश परिषद्का सदस्य मीनाकुमारी कार्की र भगिरथ राईलगायत अतिथिहरुको उपस्थिति रहेको थियो।
स्थानीय प्रमुख आयुक्त एवम् स्थानीय परिषद्का उपाध्यक्ष रीता थापाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सहायक राष्ट्रिय प्रशिक्षक दुर्गाबहादुर लुइटेलले कार्यक्रम सञ्चालन गर्नुभएको यस अवसरमा स्काउट गतिविधिका महत्वबारे विभिन्न वक्ताहरूले विचार व्यक्त गर्नुभएको थियो।



























