५ असार, दोलखा : नेपाल स्काउटको ७४औं स्थापना दिवस आज त्रिपुरा स्काउट ट्रुपले विद्यालय परिसरमा उत्साहपूर्वक र गर्वसाथ मनाएको छ। यस अवसरमा आयोजित कार्यक्रममा स्काउटिङका विभिन्न आयाम झल्किने सामग्रीहरू प्रदर्शनमा राखिएको थियो।
कार्यक्रममा विद्यार्थीहरूका लागि विभिन्न स्काउट ब्याजहरू, स्कार्फहरू र पत्रिकाहरू तथा त्रिपुरा स्काउटको स्थापनादेखि हालसम्मका विभिन्न गतिविधिहरू समेटिएका फोटोहरू प्रदर्शनमा राखिएको थियो। प्रदर्शनमा राखिएका ब्याज र स्कार्फहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आयोजित विभिन्न स्काउट क्याम्प, ज्याम्बोरी र कार्यक्रमहरूबाट सङ्कलन गरिएका थिए, जसले स्काउटिङका बहुआयामिक अनुभवहरू प्रस्तुत गरेको थियो।
समारोहको विशेष आकर्षणको रूपमा विविध स्काउट गतिविधिहरू, जीवन उपयोगी सीप सम्बन्धी तालिम, प्रतियोगिता र सम्मान कार्यक्रमहरू आयोजना गरिए। यस क्रममा त्रिपुरा ग्लोरियस एकेडेमी र त्रिपुरा स्काउट ट्रुपको झण्डा सगरमाथा शिखरसम्म पुर्याएका गौरवमयी व्यक्तित्व लाक्पा छिरी शेर्पालाई विद्यालयले विशेष सम्मान प्रदान गर्यो।
कार्यक्रममा हाइकिङ, कुकिङ, क्याम्पिङ जस्ता साहसिक स्काउट कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाएका स्काउट विद्यार्थीहरूलाई प्रोफिसियन्सी ब्याज (प्राविधिक सीप ब्याज) समेत वितरण गरियो।
त्रिपुरा स्काउट ट्रुपले आगामी दिनहरूमा स्काउट गतिविधिहरूको नेतृत्व गर्नका लागि नयाँ स्काउट ट्रुप लिडर र पेट्रोल लिडरहरू पनि चयन गरिएको छ।
यो विशेष दिनले स्काउटहरूको योगदानको कदर गर्नुका साथै उनीहरूलाई अझ प्रेरित र सक्षम बनाउने दिशामा थप एक कदम अगाडि बढाएको छ। नेपाल स्काउटले सम्पूर्ण स्काउट लिडर, शिक्षक, अभिभावक र शुभचिन्तकहरूलाई यस अवसरमा धन्यवाद व्यक्त गरेको छ।






























