१० वैशाख, काठमाडौं : काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराउन तयारी थालेको छ। महानगर प्रहरीले पर्सि शनिबार बिहान ६ बजेदेखि बस्ती खाली गराइने भन्दै बिहीबार साँझ माइकिङ गरेको हो।
माइकिङका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोलीसमेत परिचालन गरिएको थियो। यसले बस्ती हटाउने सरकारी तयारी तीव्र भएको संकेत दिएको छ।
यसैबीच, संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले बल प्रयोग गरेर बस्ती हटाउने प्रयास गरिए प्रतिवाद गर्ने चेतावनी दिएको छ। मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीका अनुसार बिहीबार बसेको बैठकले जबर्जस्ती बस्ती हटाउन खोजिए प्रतिरोध गर्ने निर्णय गरेको हो।
यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै अतिक्रमित सुकुम्बासी बस्ती खाली गराउन निर्देशन दिएका थिए। गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका उनले बुधबार साँझ सुरक्षा निकायलाई कडा निर्देशन दिएका हुन्।
सरकारको निर्णय र सुकुम्बासी पक्षको प्रतिवादको चेतावनीसँगै थापाथली क्षेत्रमा तनाव बढ्ने संकेत देखिएको छ। स्थानीय प्रशासनले सम्भावित परिस्थितिलाई ध्यानमा राख्दै सुरक्षा सतर्कता बढाएको जनाएको छ।





















