२ माघ , मेचीनगर: इलामको रोङ गाउँपालिका- ६ को करसोङ पदमार्ग झण्डीडाडाबाट बाल विकास आधारभुत विद्यालय झापाको मेचीनगर- १ सम्मको प्याराग्लाइडिङ परीक्षण उडान सफल भएको छ । शुक्रबार प्याराग्लाइडिङको परीक्षण गरिएको थियो । व्यावसायिक रूपमा प्याराग्लाइडिङ सञ्चालन गर्ने उद्देश्यसहित रोङ गाउँपालिकाको सक्रियतामा परीक्षण उडान गरिएको हो ।
झापाको निन्दा सिरानबाट इलामको धार्मिक एवम् पर्यटकीयस्थल कुटीडाँडा जोड्ने पदमार्ग क्षेत्रमा प्याराग्लाइडिङ परीक्षण उडान सफल भएको रोङ गाउँपालिका-६ का वडाध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता मणिकुमार स्याङ्बो सुवासले बताउनुभयो ।
पोखराको हाई फ्लायर प्याराग्लाइडिङ प्रालिका रूपक कोइराला, हरि बुढाथोकी र सागर नेपालीले प्याराग्लाइडिङको परीक्षण उडान गरेका हुन् । झण्डिडाँडाबाट उडान गरिएको प्याराग्लाइडिङ झापाको मेचीनगर १ को बाल विकास आधारभूत विद्यालयको प्राङ्गढमा अवतरण गराईको बताईएको छ ।
उहाँका अनुसार पर्यटकीय क्षेत्र झण्डीडाँडाबाट प्याराग्लाइडिङ उडान परीक्षण गरिएको थियो । उडान सफल भएकाले अब चाडै व्यवसायिक उडानको प्रक्रिया अघि बढाउन र शुरु गर्न स्थानीय सरकार र पर्यटन व्यवसायीको सकरात्मक र रचनात्मक सहयोग रहने प्रवक्ता स्याङ्बोले विश्वास व्यक्त गर्नुभएको छ ।
नेपालकै प्याराग्लाइडिङको उत्कृष्ट गन्तव्य जहाँबाट भारतसहितको दृश्यवलोकन गर्न सकिने उहाँको भनाई छ । करसोङ करिडोर आफैमा आकर्षक भएको र थप अर्काे आर्कषण प्याराग्लाइडिङबाट हासपोखरीबाट करसोङ पदमार्गको यात्रा थकान मेट्टाउन झण्डिबाट भुई छोड्ने सुवर्णका अवसरमा यसलाई लिन उहाँले सबैमा आग्रह गर्नुभएको छ । उहाँले परीक्षणका क्रममा रहेका पाइलट जेम्स क्षेत्री, हरि भण्डारीसहित सबैप्रति धन्यवाद ज्ञापन समेत गर्नुभएको छ ।


























