६ भदौ, काठमाडौं : नेकपा एमालेले लुम्बिनी प्रदेशसभा सदस्य अजय शाही र विमला वलीलाई कारबाही नभएसम्म संसद चल्न नदिने चेतावनी दिएकाे छ।
सांसदद्वय शाही र वलीमाथि एमालेले गरेको कारबाहीअनुसार पदमुक्त गर्न नसकिने ब्यहोराको पत्र प्रदेशसभा सचिवालयले एमालेलाई पठाएपछि एमालेले त्यसको विरोध गरेको हो।
एमाले संसदीय दलकाे नेता भविश्वर ढकालले विज्ञप्ति जारी गरेर प्रदेश सभामुख पूर्णबहादुर घर्तीले पद र मर्यादाको आचरण नभई पार्टीको कार्यकर्ता जस्तो एकपक्षीय निर्णय गरेको आरोप लगाएका छन्।
एमालेले सभामुख घर्ती पदीय मर्यादाले अब पदमा बस्न नमिल्ने ठहर गरेको छ। विगतमा नेकपा माओवादी र जसपाबाट निर्वाचित सांसदहरुलाई बिनापरामर्श कारबाही गर्ने सभामुखले एमालेले गरेको निर्णयलाई अन्यथा व्याख्या गरी आफुले विगतमा गरेको नजिरलाईसमेत लत्याएकाे आरोप लगाएकाे छ।
विज्ञप्तिमा भनिएको छ, ‘के यो संसदीय मूल्यमान्यता हो? वा स्वेच्छाचारी निरंकुश चरित्र हो? जबसम्म बिमलाकमारी खत्री वली र अजय शाहीलाई प्रदेश सभा सदस्यबाट निष्कासन नगर्दासम्म हाम्रो दलले अगाडि बढाएको संसद अवरुद्ध गर्ने आन्दोलन जारी रहेको यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछौं।’
























