काठमाण्डाै । आज प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बादल लागेर फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
अघिल्लो हप्ता देशभरको मौसम बद्ली भएर खुलेको केही दिनपछि फेरि मौसम बद्ली हुन लागेको हो । उल्लेख्य मौसमी प्रणाली नभए पनि स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभावका कारण मौसम बद्ली हुने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
यस्तै बिहानैबाट तराईका विभिन्न भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । तराईको कुहिरो भने दिउँसोपखबाट हट्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईमा तत्काल शीतलहरको सम्भावना भने नरहेको मौसमविद् मानन्धरले बताउनुभयो । बाँकी भागको मौसम भने सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
मौसममा हुने सामान्य परिवर्तनले देशका विभिन्न भागको न्यूनतम तापक्रम सामान्य घट्ने र तराईमा कुहिरो लाग्ने भएकोले चिसोबाट बच्न महाशाखाले अनुरोध गरेको छ ।

























