राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाको सभापतिमा ओमनाथ भण्डारी निर्वाचित भएका छन्। शनिबार बिर्तामोडमा सम्पन्न प्रथम जिल्ला अधिवेशनले अन्य प्रतिस्पर्धीहरू लक्ष्मण बस्नेत र अर्जुनकुमार मैनालीलाई पछि पार्दै भण्डारीलाई नेतृत्वमा चयन गरेको हो।
जिल्ला कार्यसमितिको नेतृत्वका लागि भएको निर्वाचनमा कुल ६५० मत खसेको थियो। जसमा विजयी भण्डारीले ३४१ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी लक्ष्मण बस्नेतले २४७ मत र अर्का प्रतिस्पर्धी अर्जुनकुमार मैनालीले २५ मत मात्र प्राप्त गरे। यसैगरी, जिल्ला उपसभापति पदमा २१० मत ल्याएर पुष्पलाल ढकाल विजयी भएका छन्। उपसभापतिका अन्य प्रतिस्पर्धीहरू शान्ता तामाङले १९८ र लीला खड्काले १११ मत मात्र प्राप्त गरे।
पार्टीको जिल्ला सचिव पदमा विरोध सुवेदी ३६८ मतसहित विजयी भएका छन् भने उनका प्रतिस्पर्धी रविन खड्काले २३५ मत ल्याएका थिए। सहसचिव पदमा भीमबहादुर कुँवर ३५२ मतका साथ निर्वाचित हुँदा उनका प्रतिस्पर्धीहरू राजेन्द्र बरालले १९३ र लक्ष्मी रेग्मीले ७४ मत पाए। जिल्ला कार्यसमिति सदस्यहरूमा डिल्ली न्यौपाने र शान्तिमाया न्यौपाने लगायतका नेताहरू विजयी भएका छन्।
क्षेत्रीय सभापतिहरूको चयन र चुनावी सरगर्मी
अधिवेशनले जिल्ला समितिका साथै झापाका ५ वटा निर्वाचन क्षेत्रको नेतृत्व समेत टुङ्गो लगाएको छ। जसअनुसार झापा क्षेत्र नम्बर १ को सभापतिमा १०८ मत ल्याएर कमल गौतम र क्षेत्रीय सचिवमा ज्ञाननाथ गौतम विजयी भए। झापा क्षेत्र नम्बर ३ को सभापतिमा कमल बानियाँ ४८ मत र झापा क्षेत्र नम्बर ५ को सभापतिमा चुडामणि पाठक ५३ मतसहित निर्वाचित भएका छन्। यसैगरी, झापा क्षेत्र नम्बर २ को सभापतिमा गोपाल कटुवाल र झापा क्षेत्र नम्बर ४ को सभापतिमा लीलामाया बस्नेत निर्विरोध निर्वाचित भएका थिए। अधिवेशन भव्य रूपमा सम्पन्न भए तापनि मतदान प्रक्रिया अघि अधिवेशन स्थलमा प्रतिनिधिको विषयलाई लिएर केहीबेर कार्यकर्ताहरूबीच घम्साघम्सी र विवाद समेत भएको थियो।

























