📌 मुख्य बुँदाहरू:
- पश्चिम सुर्खेतका दुई महत्त्वपूर्ण सडक निर्माण अलपत्र परेपछि चौकुने गाउँपालिकाले कर्णाली प्रदेश सरकारसँग गुहार मागेको छ।
- मदन भण्डारी राजमार्गअन्तर्गतको बड्डीचौर–खम्बागाडे सडक चार वर्ष बित्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन।
- सडक निर्माणमा ढिलाइ हुँदा स्थानीय नागरिकलाई आवागमन, कृषि उपज ढुवानी, शिक्षा र स्वास्थ्य सेवामा सास्ती भएको छ।
पश्चिम सुर्खेतका दुई महत्त्वपूर्ण सडक निर्माण लामो समयदेखि अलपत्र परेपछि चौकुने गाउँपालिकाले कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ। गाउँपालिकाको प्रशासनिक केन्द्र गुटुदेखि घाटगाउँ जोड्ने सडक र राष्ट्रिय गौरवको मदन भण्डारी राजमार्गअन्तर्गत बड्डीचौर–खम्बागाडे सडक निर्माणमा ढिलाइ भएपछि गाउँपालिकाले मुख्यमन्त्रीसमक्ष तत्काल निर्माण अघि बढाउन माग गरेको हो।
गाउँपालिकाका अध्यक्ष खड्क बि.क.(विवश)ले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई छुट्टाछुट्टै पत्र पठाउँदै दुवै सडक निर्माणमा आवश्यक पहल गरिदिन आग्रह गरेका छन्। पश्चिम सुर्खेतका नागरिकको दैनिक जनजीवनसँग प्रत्यक्ष जोडिएका यी सडक अलपत्र पर्दा स्थानीयले आवागमन, कृषि उपज ढुवानी, शिक्षा र स्वास्थ्य सेवामा गम्भीर समस्या भोग्नुपरेको गाउँपालिकाको भनाइ छ।
४२ करोडको सडक चार वर्षमा पनि अधुरै
मदन भण्डारी राजमार्गअन्तर्गत बड्डीचौरदेखि खम्बागाडेसम्मको करिब १३.९ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रका लागि अनक–जयदेव जेभी बाँकेसँग २०७९ असार १४ गते ठेक्का सम्झौता भएको थियो। ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँ लागतमा निर्माण गर्ने गरी भएको सम्झौताअनुसार सडक २०८१ असार २४ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने थियो। तर, निर्धारित समयसीमा नाघे पनि निर्माण कार्य अझै पूरा हुन सकेको छैन।
सडक निर्माणको जिम्मा पाएको अनक–जयदेव जेभीमध्ये सहायक निर्माण व्यवसायी जयदेव जेभीले प्रभावकारी काम गर्न नसकेपछि मुख्य निर्माण कम्पनी अनक कन्स्ट्रक्सनले पछिल्लो समय निर्माणको जिम्मेवारी आफैँ सम्हालेको छ। जग्गा प्राप्ति, रुख कटानलगायत सरकारी प्रक्रियामा भएको ढिलाइ र निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण सडक निर्माण प्रभावित भएको सम्बन्धित पक्षले जनाएका छन्।
















