२९ कात्तिक, मेचीनगर : नेपाल कम्यूनिष्ट पार्टी (एमाले) केन्द्रीय सचिव पदमा अर्यालले लाखौं ताराहरुका सामुन्ने एउटै सूर्य काफी रहेको बताएकी छन् । शनिबार नेपाल कम्यूनिष्ट पार्टी (एमाले) झापा जिल्ला कमिटीले आयोजना गरेको विशाल जागरण सभालाई सम्बोधन गदैं पूर्व मन्त्री समेत रहेकी अर्यालले जति तारा भए पनि एउटै सूर्य काफी रहेको बताईन् ।
पार्टीका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापा मुलुकको भविष्यको मार्गचित्र भएको उनको भनाई थियो । झापाले मुलुकको रुपान्तरणका लागि ठुलो योगदान गरेको बताउँदै फेरि झापाली जनता संविधानको रक्षाका लागि अग्रभागमा आएकोमा खुशी कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी अर्यालले व्यक्त गरीन् ।
प्रतिगमनका विरुद्ध झापाली जनताको बलियो साथ एमालेलाई रहेको बताउँदै सचिव अर्यालले प्रतिनिधिसभा पुनस्र्थापना, संविधानको रक्षाका लागि पूर्वबाट झापालीहरुले दिएको सन्देश देशभरका लागि ठुलो योगदान हुने धारणा व्यक्त गरीन् । केन्द्रीय सचिव अर्यालले प्रतिगमनकारी, देशद्रोही र आतंककारीहरुलाई एक दिन कानुनको कठघरामा उभ्याएर छोड्ने चेतावनी दिईन् ।
देशको झण्डा ओढेर राष्ट्रलाई खरानी बनाउने छुट कसैलाई नभएको भन्दैं उनले राष्ट्र र जनताको अहितमा भएको कुनै पनि कामप्रति एमाले चुप नबस्ने धारणा राख्दै त्यस्ता समूहहरुलाई ठेगान लगाएर छोड्ने चेतावनी दिईन् । जनसभामा उनले संविधानको रक्षा गर्ने दायित्व एमालेको काँधमा आएको बताउँदै उनले संविधानको रक्षाका लागि झापाली जनताको विशेष भूमिका आवश्यक भएको बताउदै प्रतिगमनलाई पछारेर अघि बढ्न एमाले सडकमा आएको बताईन् ।
संविधानको भावना मिचेर बनेको सरकार असंवैधानिक भएको र यसले निर्वाचन गर्ने भन्दै जनतालाई भुलभुलैयामा पारेको उनको भनाई छ । उनले भनिन् – ‘जननिर्वाचित सरकारलाई अपदस्त गरेर निर्वाचन गर्छु भन्नु नाटक मात्रै हो । ’ एमाले निर्वाचनको लागि तयार छ, त्यसको लागि वातावरण निर्माण गर्न सक्छ, उनले प्रश्न गरीन् । शान्ति पूर्ण चुनावका लागि एमाले जहिल्यै पनि तयार रहेको उनको भनाई छ ।
झापाको जनसभाले एमालेलाई जनताको साथ रहेको सन्देश दिएको बताउँदै उनले एमाले विरुद्ध जतिसुकै पार्टी एक भए पनि एक्लै सूर्य काफी रहेको बताईन् । केही पार्टी एक भएका छन्, नयाँ पार्टी खोलिएका छन्, उनले भनिन्– ‘यो सबै एमालेको विरोध गर्न खोलिका पार्टी मात्रै हुन् । संविधान र लोकतन्त्रको रक्षा एमालेले मात्रै गर्न सक्छ ।’
जनसभामा एमालेका युवा नेता मनोज ताम्लीले राष्ट्रियताका निम्ति एमाले बाहेक कसैले बलिदाली दिन सक्ने बताए । उनले लोकतन्त्र ल्याउन एमालेले नै बलिदानी दियो, लोकतन्त्रको रक्षाका लागि पनि एमाले नै बलिदानी दिन तयार रहेको बताए ।
देश जलाउनेहरुलाई राष्ट्रवादी मान्न नसकिने भन्दै नेता ताम्लीले सिंहदरवार र सर्वोच्च जलाउनेहरु नेपाली हुन नसक्ने उनको भनाई थियो । जनसभालाई सम्बोधन गर्दै फेरि पनि देशको नेतृत्व, पार्टीको नेतृत्व केपी ओलीले नै गर्नुपर्ने उनको धारणा थियो ।
जिल्लाभरबाट सहभागी हजारौं नेता कार्यकर्ताहरुको र्याली मुक्तिचोकबाट सुरु भई सिटि सेन्टरमा आयोजित जनसभामा पुगेको थियो । असंवैधानिक सरकार विरुद्ध झापाली जनताले जनसभा मार्फत बलियो खवरदारी गरेका हुन् ।
पार्टीका झापा जिल्ला अध्यक्ष प्रेमबहादुर गिरीको अध्यक्षतामा भएको सभामा एमाले झापाका उपाध्यक्ष शिव ढुङगेल, बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई लगायतले सम्बोधन गरेका थिए भने जिल्ला कमिटी सचिव तुलसी कार्कीले कार्यक्रमको सञ्चालन गरेका गरेका थिए । जनसाँस्कृतिक मञ्चका कलाकारहरुले जनवादी गीत प्रस्तुत गरेका थिए ।




































