६ असोज, मेचीनगर : सडकको पहुँच विस्तार भएपछि झापाको मेचीनगर नगरपालिका वडा नं. १ स्थित धार्मिक पर्यटकीयस्थल कृष्णथुम्की [कृष्ण पादुकाधाम] मा पछिल्लो समय दर्शनार्थीहरुको भीड बढ्न थालेको छ । यो स्थान सडकको पहुँचमा जोडिएपछि जीवनशैलीमा सहजता थपिएसँगै पूजापाठ तथा दर्शनका लागि आउने दर्शनार्थीहरुको भीड बढ्न थालेको कृष्णथुम्की विकास समिति [कृष्ण पादुकाधाम] ले जनाएको छ । उत्तर मेची र सिद्धी नदीको संगमस्थलमा रहेको कृष्णथुम्की धार्मिक क्षेत्र हिन्दू, किरात र बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल पनि हो । यसक्षेत्रमा वर्षेनी हजारौं बाह्य तथा आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् ।
कृष्णथुम्की प्रवेशद्वार
पहिला —पहिला सडकका कारण सवारी साधनहरु समेत सहजरुपमा नचल्ने हुँदा धाम परिसरमा दर्शनार्थीहरुको खासै बाक्लो चहल —पहल हुदैन थियो । अहिले स्थानीय सरकार मेचीनगर नगरपालिका, कोशी प्रदेश सरकार र संघीय सरकारले धार्मिक पर्यटकीयस्थल कृष्णथुम्कीमा मन्दिर र गुम्बाको मर्मतसम्भार तथा सडक कालोपत्र गरेसँगै पछिल्लो समय दर्शनार्थीहरुको भीड निक्कै बढेको कृष्णथुम्की विकास समिति [कृष्ण पादुकाधाम)] अध्यक्ष हिम्मत क्षेत्रीले बताए ।
‘सडक कालोपत्र भएपछि दैनिकरुपमा पाँचवटा साना सवारी साधन,त्यतिनै संख्यामा टेम्पो सिटी सफारी, कहिले काँहि दुई तीनवटा बससम्म लिएर दर्शनका लागि दर्शनार्थीहरु आउने गरेका छन् ’ अध्यक्ष क्षेत्रीले भने, —‘ पछिल्लो समय दैनिक दुईसयदेखि दुईसय पचास जनासम्म दर्शनार्थी धाम आइपुग्ने गरेका छन् । ’ केही समयअघिसम्म दैनिक दशदेखि १५ जनासम्म स्थानीय यहाँ आउथेँ । सडकले दर्शनार्थीहरुको यात्रालाई निक्कै सहज बनाईदिएपछि स्वदेशीमात्र नभएर विदेशी दर्शनार्थीहरु सम्म आउने गरेको अध्यक्ष क्षेत्रीले बताए ।
सडक विस्तारले अहिले गाउँघरका कुना–कुनाबाट दर्शन गर्न मानिसहरु आउने गरेका छन् । सडकले अहिले ग्रामीण स्तरसम्म प्रत्यक्ष लाभ पुगेको धामले जनाएको छ । पूर्वीद्वार काँकरभिट्टा तथा इटाभट्टाबाट १७ किलोमिटर उत्तर मेची र सिद्धी नदीको संगमस्थलमा रहेको कृष्णथुम्की धार्मिक एवम् पर्यटकीय स्थलसम्म पुग्न सकिन्छ । यी दुवै स्थानबाट त्यहाँ पुग्नका लागि सडक कालोपत्र भएपछि दर्शनार्थीहरुले यातायातको सहज पहुँच पाएका हुन् । झापाको काँकरभिट्टाबाट इलामको सलकपुर र श्रीअन्तु जोड्ने सडक स्तरोन्नति गर्ने कार्य र दक्षिणतिरबाट सडक कालोपत्रे भइरहेको हुँदा कृष्णथुम्कीसम्म पुग्नका लागि पर्यटकलाई सहज भएको क्षेत्रीले बताए । कृष्णथुम्कीमा संघीय सरकारको सहयोगमा मन्दिर र गुम्बाको मर्मतसम्भार गरिएको छ ।
मन्दिर र गुम्बाको मर्मत सम्भारमा ३० लाख ३९ हजार एकसय ८० रुपैयाँ खर्च भएको,जसमा सहरी विकास मन्त्रालयले २८ लाख पाँच हजार १ सय ९७ रुपैयाँ सहयोग गरेको र समितिको आन्तरिक स्रोतबाट दुई लाख ३४ हजार छ सय २६ रुपैयाँ जुटाइएको अध्यक्ष क्षेत्रीले जानकारी दिए । मन्दिर र गुम्बाको मर्मत सम्भारपछि कृष्णथुम्की धार्मिक क्षेत्रको मुहार नै फेरिएको छ । पहाडी अग्लो टाकुरामा रहेको मूल मन्दिर पुग्नका लागि रेलिङसहितको पक्की सिढी निर्माण गरिएको छ भने गुम्बा, साकेला थान र राधाकृष्णको मन्दिर रंगरोगन गरेर आकर्षक बनाइएको छ ।
मूल मन्दिरमा पित्तलको छानो लगाइएको, साकेलाथान र गुम्बाको प्रांगण ढलान गरिएको , मन्दिर र बगैचा परिसरमा ब्लक र टायल्स बिछ्याएको छ । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०७९ -८० र २०८०-८१ मा ३०-३० लाख रुपैयाँ धामका लागि प्राप्त भए प िनगत आर्थिक वर्ष २०८१-८२ र चालु आर्थिक वर्ष २०८२-८३ मा बजेट नपाएकोमा अध्यक्ष क्षेत्रीले दुःख व्यक्त गरे । मेचीनगर नगरपालिका वडा नम्बर १ ले हरेक वर्ष ५० हजार रुपैया धामका लागि बजेट विनियोजन गर्ने गरेको छ । तर, त्यसले खर्च धान्ने अवस्था नरहेको उनको भनाई छ ।
यसवर्ष पहिलो पटक धाम समितिले कृष्णजन्माष्टमीका अवसरमा आयोजना गरेको रथ यात्रामा १५ देखि १८ हजारको सहभागी रहेको अध्यक्ष क्षेत्रीले दबी गरे । साउन महिनामा बोलबमको अवसर पारेर चारदेखि छ हजारले जाल चढाएको, दशैका अवसरमा आयोजना गरीने पूाआजामा समेत दुईदेखि तीनहजार भत्ततजन आउने गरेको उनको भनाई छ । गत आर्थिक वर्ष २०८१- ८२ मा करीब २५ हजार दर्शनार्थीहरु दर्शनका लागि आएको बताइएको छ । यो सवै सडक सञ्जालका कारण भएको धाम समितिले जनाएको छ ।
महाभारतकालीन पौराणिक कथन अनुसार भगवान् श्रीकृष्णले गाई चराएको किंवदन्ती जोडिएका सो स्थलमा गाईको खुरको छाप रहेको पवित्र शिला रहेको छ भने मन्दिर वरपर श्रीकृष्ण र पाँच पाण्डवको प्रतीकका रुपमा पाथी आकारको ठूला पाँच र साना दुई गरी सातवटा मनमोहक डाँडा छन् । यो क्षेत्र दृश्यावलोकनका लागि समेत प्रसिद्ध छ । यहाँका थुम्कीबाट नेपाल र भारतको टाढासम्मको भूभाग अवलोकन गर्न सकिन्छ । द्वापर युगमा श्रीकृष्णले चराएको गाईको खुरको दर्शन र दृश्यावलोकन गर्न नेपाल र भारतका पर्यटक आउने गरेको समितिका अध्यक्ष क्षेत्रीले बताए ।
‘नेपालको कोशी प्रदेशका सवै जिल्लासहित अन्य स्थान र भारतको दार्जिलिङ, कालेम्पोङ, खर्साङ, मिरिक, सिक्किम, शिलीगुडी, नक्शलवाडी, खोरीवारी, अधिकारी बतासीलगायत अन्य स्थानबाट समेत आत्रिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।’ अध्यक्ष क्षेत्रीले भने । मेचीनगर । धार्मिक तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मनसा नागदेवी ४९ धारा तथा हिले सिमसार क्षेत्रले समेत कृष्णथुम्की दर्शनका लागि आउने दर्शनार्थीहरुका लागि सहयोग पुर्याएको छ । मनसा नागदेवीको मन्दिरसँगै ४९ वटा धारा निर्माण गरिएको छ । कृष्णथुम्की र मनसा देवी ४९ धारा तथा हिले सिमसार क्षेत्रको दुरी चार किलो मिटरमात्र छ । यहाँ हरेक वर्षको नाग पञ्चमीको अवसरमा धार्मिक तथा सांस्कृतिक कार्यक्रम हुने गर्दछ ।
यो सँगै स्वमीचोकदेखि यायोख्या थान, भीमसेन डाडा, बौद्ध गुम्बाहुँदैं कृष्णथुम्की सौन्दर्य पार्कसम्मको पदमार्गले समेत साइकिलिङमा रमाउने आन्तरिक पर्यटकहरुलाई आर्कषण गर्ने गरेको छ । इलामको रोङ गाउँपालिका र झापा जोड्ने निन्दा नदीमा निर्माण गरिउको दुईसय मिटर लामो झोलुङ्गे पुलमा फोटो खिच्न समेत आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गरेको छ । मौसमी झरना, असारदेखि असोज महिनासम्म देखिने यो झरनाले पर्यटककको मन निक्कै लोभ्याउने गरेको छ ।
पूर्वपश्चिम राजमार्गलाई चार लेनको एसियाली राजमार्गको रुपमा स्तरोन्नति भइरहेको र बाहुनडाँगीमा मदन भण्डारी राजमार्गको प्रस्थान विन्दु समेत रहेको कारण बाहुनडाँगी क्षेत्रका कृष्णथुम्की लगायतका ऐतिहासिक धार्मिक क्षेत्रहरुको पर्यटन प्रवर्धनमा सघाउ पुग्ने सम्भावना छ ।