दशैं कसैका लागि दशा नबनोस

असत्यमाथि सत्यको विजय दानवीय स्वभावमाथि मानवीय स्वभावको विजय, कु–शासनमाथि सु–शासनको विजय, अन्यायमाथि न्यायको विजय, हिसामाथि अहिंसाको विजय, असुरी शक्ति माथि दैविय शक्तिको विजय एक वाक्यमा विजया दशमी ।

विजयादशमी, जसलाई दशहरा वा दशैं पनि भनिन्छ, प्रत्येक वर्ष नवरात्रिको अन्त्यमा मनाइने एक प्रमुख हिन्दू चाड हो दशैं । हरेक वर्ष निक्कै खुशीयाली र तामझामका साथ हरेक नेपालीले मनाउँने बिजया दशमी वा वडादशैं हरेक नेपालीका घर आगनमा भित्रिसकेको छ । अहिले सवैका घर आगन कमेरो माटोले लिपपोत गरी चिट्टिक्क बनाउने काम शुरु भएको छ । गाउँ घरमा पालैपालो चिउरा कुट्ने काम शुरु भएपछि ढिकीको आवाज सुन्न थालिएको छ । दशैका लागि नयाँ नयाँ लुगाफाटाहरु खरीद गरेर सिलाउने दिनेदेखि मारका लागि खसी किन्न थालिएको र नयाँ नयाँ नोट साट्ने काम शुरु भएको छ ।

चाडपर्वहरुले एउटा छुट्टै आनन्दको अनुभूति समेत दिलाउँछन । त्यसैले त दशैं पर्वलाई विशेष महत्वका साथ मनाइने गरिन्छ । हुनत ः नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विविधतायुक्त विशेषताले भरिपूर्ण सुन्दर देश हो । यहाँ विभिन्न जातजातिका आआफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाड–पर्व छन्, तिनले नेपालीलाई एकताको सूत्रमा बाँध्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

दशैंका लागि स्वदेशका विभिन्न ठाउँमा रोजगारीका लागि मात्र नभएर अन्य व्यवसाय सञ्चालन गरेर बसेकादेखि अध्ययनका लागि राजधानीलगायत अन्य स्थानमा पुगेकाहरुमात्र होइन रोजगारीका लागि सात समुन्द्रपार पुगेका समेत यतिखेर आफ्नो पुख्र्याेली घर फर्किने क्रम शुरु भईसकेको छ । अथवा कमाइ र अन्य कामका शिलशिलामा देश, विदेश गएका युवा, युवतीहरु दशैं पर्वको लागि भनेर घर फर्किने क्रम वढदै छ । रोजगारी, अध्ययन एवम् अन्य काम विशेषले आफ्नो घर बाहिर रहेका मानिस दशैको अवसर पारेर घर फर्किने र परिवारका साथ बसेर महान पर्व मनाउँछन् । यसैले बडादशैंलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा समेत लिइन्छ । धेरैजसो शैक्षिक संस्थाले दशैका अवसरमा घटस्थापनादेखि सार्वजनिक बिदा दिने गरेका छन् । त्यसकारण पनि आफ्नो जन्मस्थलो र परिवारका माझ बेलैमा उनीहरु फर्किने गरेका छन् । दशैं नजिकिँदै जाँदा पिँढीमा बसेका बृद्ध बा आमाहरु परदेशी बाटो छोरो फर्किएको हेर्न पर्खिरहन्छन् । मुगलान रहेको लाहुरे पनि दशैमै घर फर्किन्छ । दशैमा घर फर्किएको परदेशी र गाउँले साथीबीच दुःख साटासाट हुन्छ ।

अन्य बेला निक्कै भीडभाड देखिने संघीय राजधानी दशैंका बखत निक्कै सुनशान झै हुन्छ । तर, घटस्थापना शुरु भएपछि दशैंका लागि आफ्नो पुख्र्याेली घर फर्किन राजधानी छाड्नेको संख्या निक्कै बाक्लो हुन्छ । अधिकाँश गाउँ फर्किन थालेपछि दशैंका बखत काठमाडौं क्रमस सुनसान बन्ने गरेको छ । दशैंका बखत सुनसान गाउँ गुलजार बन्छ । अरु बेला जे जस्तो दुःख सुखमा जीवन यापन गर्दै आएकाहरुले पनि दशैंमा एकसरो नयाँ लत्ताकपडा लगाउँनै पर्ने , एक दुई गास मीठो मसिनो खानै पर्ने अझ भन्ने हो भने दशैं र मासुको सम्बन्ध निक्कै समधुर छ । दशैंमा मासु खानैपर्ने जस्तै भएको छ । त्यसकारण पनि सप्तमी फूलपातीका दिनदेखि हुनेले घर घरमा खसी बोका मार हान्ने गर्दछन, भने नहुनेले ऋण खोजेरै भएपनि खरीदै गरेर एक दुई छाक मासु खाने गर्दछन् ।

वास्तवमा हुनेखानेका लागि दशैं साच्चैको दशैं बनेर आउने गर्दछ भने, हुँदा खानेहरुका लागि दशैं दशा नै बनेर आउने गरेको छ । हामीले हुनेखाने र हुँदाखाने यी दुईबीचको यो खाडल पुर्न पर्दछ । हाम्रा हरेक पर्वहरु आर्थिक पक्षमा जोडिएको हुन्छ । खर्च गरेर तडक–भडक गरेर पर्व मनाउने र नसक्ने बर्गले पनि ऋण धन जुटाएर पर्वहरु मनाउँदा एउटा बर्ग जहिले पनि समाजमा ऋणको भारी बोक्नु पर्ने बाँध्यतामा छ । त्यसैले भनिन्छ, आयो दसैं ढोल बजाई गयो दसैं ऋण बोकाई ! अबका दिनहरुमा देखासिखी र आडम्बरयुक्त दशैं मनाउने मानसिकतालाई हामीले त्याग्दै परिवर्तन गर्न जान्नु पर्दछ । अब पनि यस्ता खर्चिला पर्वहरुलाई परिवर्तन नगर्ने हो भने समाजमा रहने बिपन्न बर्गका मानिसहरुको अबस्था झनै दयनिय हुन जान्छ ।

दशैंको कुरा गर्दा आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यसै दिन जमरा राखिन्छ र घट कलशको स्थापना गरी देवी–देवताको आवाहन गरिन्छ । यस दिन बिहानीमै आत्मशुद्धि पश्चात नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दसै घर या पूजाकोठामा राखी त्यस ठाउमा जमरा उमार्न जौ छरिन्छ । जौ को आकुरा मात्र जमरा हो ।

घटस्थापनादेखि शुरु हुने दशैं पर्व विभिन्न शक्तिपीठहरुमा बली दिएर देवीदेवताको प्रसादको रुपमा मासु खाने चाडको रुपमा मनाइने र दसैं पर्वमा विशेषगरी नवदुर्गाको पुजा आराधना गरेर मनाउने हाम्रो प्रचलन छ । आज नवरात्री ‐घटस्थापन) को दोस्रो दिन । देवि दुर्गाका शक्तिपीठ र घर घरमा ब्राह्राचारिणी देवीको पुजा गर्ने चलन छ । पंण्डित टिकाप्रसाद खनालका अनुसार यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौ वटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । आसुरी एवम् राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम रहेको खनालको भनाई छ । दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवम् धर्म विशेषको नभएको पंण्डित खनालको भनाई छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडादशैं आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । घटस्थापनादेखि नै हिन्दूहरुले विभिन्न शक्ति पिठहरुमा दुर्गा सप्त शनि, चण्डि र भगवतिको स्त्रोत पाठ गरी विशेष गरी दुर्गा भवानीको आराधना गरिन्छ । दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीजलगायतका राक्षसलाई बध गर्न लिएका नौ वटा रूपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आराधना गर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ । असोज १६ गते देवी विसर्जनको साइत बिहान ०९ : २३ बजे रहेको र यस वर्षको विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ : ५३ बजे छ । यस दिन बिहानैदेखि मान्यजन तथा ठूलाबडाबाट टीका तथा जमरा लगाई दशैं धुमधामका साथ मनाइँन्छ। टीका लगाउन जानेको भीडले गाउँ शहरमा चहलपहल देखिन्छ ।

विजयादशमीका दिन टीकाको शुभसाइतमा तथा त्यस दिन टीका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले टीका कोजाग्रात पूर्णिमा सम्म टीका लगाउँछन् । विजयादशमीका दिनदेखि सुरु भएको टीका तथा जमरा ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ ।

किवंदन्ती अनुसार त्रेता युगमा दिनमा श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा यस चाडलाई विशेष गरी मनाइन्छ । श्रीरामले विजया दशमीका दिनमा रावणमाथि विजय हाँसिल गरेको भएर दसैलाई वडादसै एवम विजयदशमी भन्ने गरिन्छ । दसैलाई असत्य माथि सत्यको बिजयको रुपमा हेरिन्छ । विजयदशमी भगवान रामको विजयको रुपमा मनाइयोस अथवा दुर्गा पूजाको रुपमा, दुवै रुपमा यो शक्ति पूजाको पर्व हो । यसो भन्ने जान्दा जान्दैं पनि चाडपर्वमा मनोरञ्जनका नाममा जुवा तास खेल्ने, अत्यधिक मादक पदार्थ सेवन गरी गाउँघरमा हो हल्ला गर्ने, समाजलाई आतंकित पार्ने काम पनि यस अघि नभएका भने होइनन् । यसले समाजमा नकरात्मक सन्देश त दिन्छ नै, त्यो भन्दा बढी चाडपर्वका नाममा खेलिने जुवातासले आफ्नो उठिवासमात्र पार्दैन सत्यनाश नै हुन्छ । परीवार समेत विचल्लीमा पर्छन् । त्यसमा केही सावधानी चाँहि अप्नाउनु पर्छ । असत्यमाथि सत्यको विजयका रुपमा मनाउन सुरु गरिएको दशैंमा आफ्नो आर्थिक हैसियत बिर्सेर गलत बाटोतर्फ जानु हुर्दैन । नेपालीमा एउटा उखान छ , घाटी हेरी हाड निल्नु ! दशैं हाम्रो सस्कृतिक पर्व हो । यसलाई तडक भडक साथ मनाउनु भन्दा पनि यसको संस्कृतिको बारेमा हामीलाई थाहा हुन पर्छ । यसलाई एउटा सांस्कृतिक महत्वको चाडका रुपमा स्वीकार गरी दशैंको गरिमा वृद्धि हुनेगरी विशुद्ध मनोरञ्जनात्मक रुपमा मनाउँनु पर्छ । यसो गर ेमात्रै दशें हुने खाने र हुँदा खानेकाबीच साच्चिकै दशैं बन्न सक्छ । यसवर्षको दशैं सवैका लागि दशैं बनोस, दशा नबनोस ।

अन्त्यमा  : बिजया दशमीको उपलक्ष्यमा सवैमा हार्दिक शुभकामना छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.