२४ कात्तिक, मेचीनगर : झापाको विर्तामोडमा रहेको सामाजिक संस्था अग्रसेन भवनको आगामी तीनवर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको छ ।
आज सोमबार अग्रसेन भवनको दोस्रो तलाको वातानुकुलित नवनिर्मित सभाकक्षमा आयोजित २६ औँ साधारणसभा तथा १० औँ अधिवेशनबाट रमेशकुमार अग्रवालको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
संस्थामा पहिलो चरणमा १२ जना सदस्य चयन हुने र चयन भएका सदस्यहरुबाट सहमतिमा पदाधिकारी चयन हुने प्रावधान अनुसार नयाँ समिति चयन भएको निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त भाष्कर शर्माले जानकारी दिए ।
समितिको उपाध्यक्षमा दिपेन्द्रकुमार अग्रवाल, सचिवमा सुजित वंशल, सहसचिवमा मांगीलाल जिन्दल र कोषाध्यक्षमा सुशीलकुमार अग्रवाल चयन भएका छन् भने सदस्यमा शिवकुमार अग्रवाल, इन्द्रभन्द विन्दल, जगदीशप्रसाद मित्तल, मनोज गोयल, पंकजकुमार मित्तल, मनोज बजाज र मनिष साहेवाला चयन भएका छन् । आवश्यक संख्यामा एक–एकजनको मात्र उम्मेद्वारी दर्ता भएकोले कार्यसमिति सर्वसम्मत निर्वाचित भएको घोषणा गरिएको प्रमुख निर्वाचन आयुक्त शर्माले जानकारी दिए । १५ सदस्यीय रहने कार्यससमितिमा दुईजना सदस्य अध्यक्षले मनोनित गर्नेछन् भने वर्तमान अध्यक्ष निवर्तमान अध्यक्षको हैसियतले कार्यसमितिमा रहनेछन् ।

सो अवसरमा भवनले विभिन्न किसिमका सहयोगदाता, भवनका संस्थापक–संरक्षक एवम् पूर्व अध्यक्षहरुलाई सम्मान पनि गरेको थियो ।




































