विराटनगर । प्रदेश १ सरकारले मनसुनको सुरुवातसँगै उत्पन्न हुनसक्ने प्राकृतिक विपत्तिको अवस्थामा तत्काल उद्धार तथा राहतका लागि विपत पूर्वतयारी थालेको छ। मनसुन शुरु भएसँगै देशका विभिन्न स्थानमा बाढी पहिरोको प्रकोप शुरु भएलगत्तै प्रदेश १ सरकारले पनि विपत पूर्वतयारीका लागि आवश्यक तयारी थालेको हो ।
प्रदेश १ का तराईका जिल्लाहरुमा बाढी र डुबान तथा पहाडी र हिमाली जिल्लामा पहिरोको कारण वर्षेनी ठुलो जनधनको क्षति हुँदै आएको छ । प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले आज मन्त्रालयमा प्रदेश सुरक्षा समन्वय समितिको बैठक राखी मनसुन शुरु भएकाले त्यसबाट उत्पन्न हुने प्रकृतिक विपत्तिको पूर्व तयारीको अवस्थामा रहन तीनै वटै सुरक्षा प्रमुखका अंगका प्रमुखलाई निर्देशन दिएका छन् ।
विपत व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष समेत रहेका मन्त्री कार्कीले प्रदेश १ पनि प्रकृतिक विपत्तिको उच्च जोखिममा पर्ने भएकाले मनसुन शुरु भएसँगै विपतको पूर्वतयारीमा रहन निर्देशन दिएको बताए ।
बाढी, डुबान र पहिरोको समस्या भएको खण्डमा त्यसको क्षति न्यूनीकरण गर्दै तत्काल फसेका नागरिकलाई उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यक सहयोगका लागि नेपाली सेना समेत उद्धारमा परिचालन हुने गरी तयारी अवस्थामा रहन निर्देशन दिएको मन्त्री कार्कीले बताए ।
मन्त्री कार्कीले पहिलो पटक प्रदेश सरकारले हेलिकोप्टरको प्रयोग गरी विपदमा फसेका नागरिकको उद्धारका लागि सुनसरीको इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतनामा हेलिकप्टर तयारी अबस्थामा राख्ने निर्णय गरेको जानकारी दिए । त्यसका लागि मन्त्रालयले आजै गृह मन्त्रालयलाई पत्राचार समेत गरेको मन्त्री कार्कीले बताए ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता एवम् उपसचिव कमलबहादुर थापाले मनसुन जोखिम पूर्वतयारी तथा प्रतिकार्य योजना बनाउन समितिमार्फत कामपनि भइरहेको बताए ।
यसबाहेक प्रदेश सरकारले विपत व्यवस्थापन तथा उद्धारका लागि मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश विपत व्यवस्थापन परिषद र आन्तरिक मामिला मन्त्रीको अध्यक्षतामा विपत व्यवस्थापन कार्य समिति गठन गरेको छ ।
प्रदेश सरकारले अघिल्लो आवमा ५० लाख र चालु आवमा ५० लाखको गरी कुल करोड रुपैयाँको ठुला किसिमका बोट, रबर बोटलगायतका लगायतका आवश्यक सामाग्री खरिद गरी नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई हस्तान्तरण गरेको छ । त्यसैगरी राहतको आवश्यक तयारीका लागि विपद व्यवस्थापन प्रादेशिक गोदाम घर निर्माण गरिएको छ ।
मन्त्रालयले गोदाम घरसँगै प्रदेश विपद व्यवस्थापन आकस्मिक खातापनि सञ्चालन गरेको छ । प्रदेश सरकारले सञ्चालन गरेको खातामा ३ करोड संचित रकम रहेको प्रवक्ता थापाले बताए । आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले विपत व्यवस्थापन तथा उद्धार कोषका लागि थप १ करोड रुपैयाँ बिनियोजन गरेको प्रवक्ता थापाले जानकारी दिए ।
सरकारले यस वर्षको वर्षायाममा मनसुनजन्य विपतका घटना अत्यधिक हुन सक्ने अनुमान गरेको छ ।

























