मेचीनगर, ३० बैशाख | प्रजातान्त्रिक योद्घा, नेपाली काँग्रेसका संस्थापक सभापति झापा मेचीनगर— ६ काँकरभिट्टा शान्ति गाउँ निवासी प्रेम राईको ७८ वर्षको उमेरमा बुधबार राति ११ बजे काठमाण्डौंमा निधन भएको छ ।
पारिवारीक स्रोतका अनुसार विसं २००० साल बैशाख १६ गते खोटाङमा दिवंगत पिता माता शहीद धनवर्ण र पदमकुमारी राईको माइलो सन्तानको रुपमा स्वर्गीय राईको जन्म भएको थियो । लामो समयदेखि मधुमेह र उच्च रक्तचापका कारण पीडित स्वर्गीय राई पित्तथैलीमा समस्या देखिए पछि थप उपचारका लागि तीनमहिना अघि काठमाण्डौं जानुभएको थियो ।
मधुमेह नियन्त्रणमा आउन नसक्दा उहाँको पित्तथैलीको शल्याक्रिया हुन पाएको थिएन् । कान्छी छोरी प्रेजिन र ज्वाई विनोद लुईँटेलको घरमा रहेर स्वास्थ्य परीक्षण गराईरहनु भएको थियो । बुधबार राति उहाँको स्वास्थ्यमा अचानक समस्या देखिए पछि उपचारकालागि काठमाण्डौस्थित सिभिल अस्पताल लैजाने क्रममा उहाँको निधन भएको भाञ्जा अशोक राईले जानकारी दिनुभयो । उहाँको हिर्दयघातका कारण निधन भएको बताइएको छ ।
पञ्चायत विरुद्धको आन्दोलनमा सक्रिय नेता राई २०१८ सालमा ७ वर्ष भारत निर्वासित भएका थिए । २०४६ सालको आन्दोलन तथा लोकतन्त्रको विभिन्न आन्दोलनमा नेता राईको अग्रणि भूमिका थियो ।
काँग्रेस मेचीनगरका संस्थापक सभापति, दुई पटक महासमिति सदस्य समेत रहिसक्नु भएका नेता राई काँकरभिट्टा माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष लगायत विभिन्न सामाजिक संघ संस्थामा कुशलतापूर्वक भूमिका निर्वाह गरिसकेका व्यक्ति हुनुहुन्छ । उहाँका एक श्रीमती जुनु राई छोराबुहारीहरु बालाजित चन्दा राई, दिनेश सिर्जना र बालाहरि कोपिला राई रहेका छन् । छोरीहरुमा रिना, रेजिना,प्रविक र प्रेजिना रहेको परिवारले जनाएको छ । यो समाचार तयार पर्दासम्म उहाँको शवलाई आफ्नै निजी निवास झापा मेचीनगर— ६ काँकरभिट्टास्थित शान्ति गाउँ ल्याइन्दैछ ।
























