📌 मुख्य बुँदाहरू:
- कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ।
- पाकिसकेको धान मौसमको अवस्था हेरेर सुरक्षित रूपमा भित्र्याउन वा कात्तिक १५ गतेपछि मात्र काट्न सुझाव दिइएको छ।
- धान ढलेको वा पानीमा डुबेको अवस्थामा बाला जोगाउन मुठो पारेर ठड्याउने वा अग्लो ठाउँमा राख्न आग्रह गरिएको छ।
कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थालाई ध्यानमा राख्दै धान काट्न तथा भित्र्याउन कृषकहरूलाई विशेष आग्रह गरेको छ। वर्षाका कारण धानबालीमा हुन सक्ने क्षति जोगाउन मौसमको पूर्वजानकारी लिएर मात्रै कृषि कार्य अघि बढाउन अनुरोध गरिएको हो।
कार्यालयले जारी गरेको ‘धानबाली काट्ने तथा भित्र्याउने सम्बन्धी’ सूचना अनुसार यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ। यसले पाकेको धानबालीमा ठूलो असर पार्न सक्ने भएकाले कृषकहरूलाई सतर्कता अपनाउन भनिएको छ।

धान जोगाउन अपनाउनुपर्ने सावधानीहरू
पाकिसकेको धान मौसमको अवस्था हेरेर यथाशीघ्र भित्र्याइसक्न वा कात्तिक १५ गतेपछि मात्र काट्न सुझाइएको छ। तत्काल भित्र्याउन सम्भव नभएका क्षेत्रमा मौसममा सुधार आएपछि मात्रै काट्ने गरी समय मिलाउन कृषकहरूलाई आग्रह गरिएको छ।
त्यस्तै, अझै नपाकेका खेतहरूमा कुलो वा नाली काटेर पानी जम्न नदिने व्यवस्था मिलाउन भनिएको छ। हावाहुरी वा वर्षाका कारण धान ढलेको अवस्थामा बाला पानीमा डुब्न नदिन मुठो पारेर ठड्याउने वा सुरक्षित तथा अग्लो ठाउँमा राख्ने प्रयास गर्न कार्यालयले कृषकहरूलाई सुझाएको छ।

















