१ माघ मेचीनगर : राष्ट्रिय योग दिवसको अवसरमा बिहीबार झापाको मेचीनगरमा विविध कार्यक्रम सम्पन्न भएको छ । पाताञ्जल योग समिति मेचीनगर र जीवन विज्ञान प्रयोगशाला मेचीनगरले संयुक्तरूपमा प्रभात फेरि, संक्षिप्त कोणसभाकसहित माघे संक्रान्तिको अवसरमा अनेक परिकार खुवाउने कार्यक्रम आयोजना गरेको थियो ।


नेपालको संविधान २०७२ ले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रूपमा स्थापित गरेको छ । यसै अनुरूप योग सेवालाई पनि आधारभूत स्वास्थ्य सेवाको अभिन्न अंगका रूपमा समावेश गरिएको छ । मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । तत्कालीन शान्ति तथा पुनःनिर्माणमन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो ।

सोहि क्रममा ‘स्वस्थ्य समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने मूल नाराका साथ मेचीनगर— ०६ काँकडभिट्टस्थित काँकडभिट्टा बहुमुखी क्याम्पस परिसरबाट विहान शान्ति र समृद्धिका लागि योग, गरौ योग रहौं निरोग, स्वास्थ जीवनको चाहना योग शिक्षा र साधना, स्वास्थ शान्ति र सदाचारका लागि योग, सबैका लागि योग सधैका लागि योग, सद चरित्र र सदाचार यही नै हो हाम्रो हतियार, ज्ञान भक्ति, शिव भूमि तपो भूमि नेपाल, हामी सबै योग गरि स्वास्थ्य बनाउँ नेपाल, ध्यान ज्ञान निरोगिताको अमृत जल मातृभूमिको सुगन्ध हो हाम्रो पाताञ्जललगायतका नारा लेखिएका प्लेकार्ड र व्यानरसहित सहभागी योग साधकहरूले बजार परिक्रमा गरेका थिए ।
सतिघट्टा रोड, काँकडभिट्टा बसपार्क, बाहुनडाँगी रोड, भट्टराई चोक, मेची बस व्यवसायी प्रालि रोड, मनिषा मेडिकल हल रोडलगायतका चोक बजारको परिक्रमा पश्चात् मेचीनगर — ०६ काँकडभिट्टास्थित लक्ष्मीनारायण पञ्चमुखी मन्दिर परिसरमा पुगेर संक्षिप्त कोणसभामा परिणत भएको थियो । मेचीनगर नगरपािलका वडा नम्बर —६ का वडा सदस्य भविन्द्राज सुब्बाको प्रमुख आतिथ्यतामा भएको कोणसभामा बोल्दैं प्रमुख अतिथि सुब्बाले योग केवल व्यायाम मात्र नभई जीवन जिउने कला र पद्धति पनि भएको बताए । नेपाली भूमि योगको उद्गम स्थल रहेको तथ्यलाई शिरोधार्य गर्दै, योगलाई प्रत्येक नागरिकको दैनिक जीवनको हिस्सा बनाउनु र यसका माध्यमबाट स्वस्थ्य समाज र समृद्ध नेपाल निर्माणमा टेवा पुरÞ्याउनु यस दिवसको मुख्य लक्ष्य रहेको उनको भनाई थियो ।

योगले प्रदान गर्ने मानसिक शान्ति र सकारात्मक ऊर्जाले ‘विश्व शान्ति’ का लागि समेत मार्गप्रशस्त गर्ने उनले विश्वास व्यक्त गरे । योग गुरु इन्द्रप्रसाद खरेलले योगले नसर्ने रोगहरू (उच्च रक्तचाप, मधुमेह, मोटोपना आदि) को नियन्त्रण र व्यवस्थापनमा सहयोग गर्ने, तनाव कम गरी मानसिक स्वास्थ्य संवर्धनमा महत्वपूर्ण भूमिका खेल्ने र शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गरी स्वस्थ समाज निर्माणमा मद्दत पुरÞ्याउँने बताए । वर्तमान समयमा बढ्दो आधुनिक जीवनशैलीका कारण नसर्ने रोगहरू र मानसिक स्वास्थ्य ठूलो चुनौतीको रुपमा देखा परेका छन् । यसकारण पनि स्वास्थ्यमा योगको महत्व ठूलो रहेको गुरु खरेलले बताए । ‘मानवभित्र भएका सम्पूर्ण सम्भावनालाई उजागर वा प्रकटीकरण गर्न सक्ने ज्ञान विज्ञानलाई योग भनिन्छ ’ खरेलले भने—‘प्रारम्भिक कालमा योग सबैका लागि सधैँका लागि भएकामा मध्यकालमा दाह्री, कपाल पालेका वैरागी एवम् साधु सन्तका लागि मात्र योग भन्ने अर्थमा बुझिन्थ्यो । अहिले स्वास्थ्यसँग जोडिएर योग आएको छ ।’

पाताञ्जल योग समिति मेचीनगरले हरेक दिन विहान क्याम्पसको हलमा विभिन्न योग अभ्यासहरु नियमितरुपमा सञ्चालन गरिरहेको योग प्रशिक्षक रेखा ढकाल पराजुलीले बताइन् ।


































