काठमाडौं । युरो २०२० अन्तर्गत आज बुधबार तीन खेल सम्पन्न हुँदैछ्न्। नेपाली समय अनुसार बेलुकी ६:४५ मा फिनल्याण्ड र रसिया, राती ९:४५ मा टर्की र वेल्स र मध्यरात १२:४५ मा इटाली र स्वीट्जरल्यान्ड भिड्दैछन् । त्यसैगरी हिजो मंगलबार राती भएको खेलमा पोर्चुगलले हंगेरी र फ्रान्सले जर्मनीलाई पराजित गरेको छ ।
पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३–० ले हराएको छ । खेलको अन्तिम समयमा एक मिनेटको अन्तरमा दुई गोल गर्न सफल भयो । ८४ औँ मिनेटमा राफायल गुएर्रो र पेनाल्टीमार्फत् स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गरेका थिए । दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल थपेका थिए ।
यसैगरी फ्रान्सले जर्मनीलाई १–० गोलले पराजित गरेको छ । खेलको १९ औं मिनेटमा फ्रेन्च लेफ्ट ब्याक लुकास हर्नान्डेजले गरेको क्रसमा हुमल्सको बल क्लियर गर्ने प्रयास गोलमा परिणत भएको थियो ।
फ्रान्सका किलियान एम्बाप्पे र करिम बेन्जिमाले गरेको दुई गोल अफसाइडका कारण रद्द भएका थिए । प्रतियोगिताको तीन पटकको च्याम्पियन जर्मनी पहिलो पटक युरोपियन फुटबल च्याम्पियनसिपको पहिलो खेलमा पराजित भएको हो ।
खेलका दौरान जर्मनीका लागि गोलका सुन्दर मौका पाए पनि सर्ज गिनाब्रीले सदुपयोग गर्न पाएका थिएनन् । फ्रान्सले दोस्रो खेलमा शनिबार हंगेरीसँग खेल्ने छ भने शनिबार पोर्चुगलको सामना गर्नेछ ।

























