६ पुस, मेचीनगर : आगामी पुसको अन्तिम साताबाट झापाको मेचीनगरमा प्रथम ‘इन्डो–नेपाल मेचीनगर मिडियाकप २०८२’ सञ्चालन हुने भएको छ ।
पर्यटन प्रवद्र्धन तथा दुई देशबीचको आपसी सम्बन्ध स्थापित गर्ने उद्धेश्यले मेचीनगरमै पहिलो पटक प्रेस क्लब मेचीनगरले आयोजना गरेको प्रतियोगिता २८ गते दुईदिनसम्म चल्ने छ । मेचीनगर ६ काँकरभिट्टा खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको च्याम्पियनले नगद ५० हजारसहित ट्रफी, मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने छ ।
उपविजेताले ३० हजार नगद प्राप्त गर्नेछ । खेल अवधिभर उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर लगायतलाई विषयगत विधामा नगदसहित पुरस्कृत गरिने खेल संयोजक खगेन्द्र घिमिरेले जानकारी दिए । प्रतियोगितामा नेपाल र भारतका आठवटा मिडिया टिमको सहभागिता जनाउने छन् ।
नकआउटको आधारमा खेलाइने प्रतियोगितामा प्राविधिक सहयोग झापा जिल्ला फुटबल संघको रहने छ । प्रतियोगिताका सम्पूर्ण खेलहरु फिफाको नियमअनुसार खेलाइने संघका महासचिव सुन्दर बस्नेतले बताए । सो विषयमा आयोजक प्रेस क्लब मेचीनगरले मेचीनगरमा सर्वपक्षिय छलफल तथा अन्तरक्रिया सम्पन्न गरेको ।
करिब आठ लाख रुपैयाँ खर्च लाग्ने प्रतियोगिता सम्पन्न गर्न नगरका सरकारी तथा गैरसरकारी संघ संस्था, राजनीतिक दल, उद्योगी व्यवसायीले रचनात्मक र सकरात्मक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
खेलकुदको माध्यमबाट दुई देशबीचको भाइचारा स्थापित गर्दै नेपालको पर्यटन क्षेत्रको अधिकतम प्रचारप्रसार गर्ने मुख्य उदेश्य राखेर प्रतियोगिता आयोजना गर्ने तय भएको प्रेस क्लब मेचीनगर अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए ।
कार्यक्रममा कोशी प्रदेश सभाका निवर्तमान प्रदेश सभा सदस्य तथा मेचीनगर गोल्डकपका संयोजक श्रीप्रसाद मैनालीले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा मेची भन्सार प्रमुख शिवलाल न्यौपाने, मेचीनगर सामाजिक विकास शाखा प्रमुख हृदय राजवंशी, मेचीनगर वडा नं ७ का वडाध्यक्ष प्रल्हादमणि ओली, नेकपा एमाले मेचीनगर अध्यक्ष राजु कार्की, रास्वपा मेचीनगर सभापति सन्तोष राजवंशी, श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य केवलराम राई, नेपाल पत्रकार महासंघ झापाका कोषाध्यक्ष मुक्ति पौडेल, मेचीनगर प्रेस क्लबका संस्थापक अध्यक्ष सन्तोष आचार्य, झापा जिल्ला फुटवल संघका महासचिव सुन्दर बस्नेत, काँकरभिट्टा खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष रोहित बुढाथोकी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी न्यौपाने, समाजसेवी डिल्लीराम घिमिरे, राजु पोखरेल, राजु पौडेल, दिपेश तिवारी, शिक्षासेवी सुवर्ण भट्टराई लगायतले मिडिया कप सफलताका निम्ति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष खगेन्द्र घिमिरे तथा सञ्चालन सचिव प्रविण अधिकारीले गरेका थिए ।

























