📌 मुख्य बुँदाहरू:
- लुम्बिनी लायन्स नेपाल प्रिमियर लिगको तेस्रो सिजनमा प्लेअफमा प्रवेश गरेको छ।
- कन्स्ल्टेन्ट तथा प्रशिक्षक शक्ति गौचनले कठिन पिचका कारण सामान्य लक्ष्य भेट्टाउन पनि संघर्ष गर्नुपरेको बताएका छन्।
- कर्णाली याक्सका अलराउन्डर गुलसन झाले १३० रनभन्दा बढीको योगफल बनाउन सकेको भए नतिजा फरक हुन सक्ने बताएका छन्।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा प्लेअफ यात्रा तय गरेपछि लुम्बिनी लायन्सका कन्स्ल्टेन्ट तथा प्रशिक्षक शक्ति गौचनले पिच कठिन हुँदा सामान्य लक्ष्य पछ्याउँदा पनि ब्याटिङमा संघर्ष गर्नुपरेको बताएका छन्। कर्णाली याक्समाथि जित हात पार्दै प्लेअफमा पुगेपछि आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्।
प्रशिक्षक गौचनले पिच केही ट्रिकी र कठिन रहेको बताए पनि ब्याटरहरूले धैर्यता प्रदर्शन गरेका कारण जित निकाल्न सम्भव भएको स्पष्ट पारे। उनले कप्तान रोहित पौडेलको उत्कृष्ट कप्तानी र समय परिस्थिति अनुसार बलरको सही प्रयोगले टोलीलाई सफलता मिलेको उल्लेख गरे। साथै, पछिल्ला तीन सिजनदेखि राम्रो बलिङ गरिरहेका अभिषेक गौतम, शेर मल्ल र तिलक भण्डारीको प्रदर्शन तारिफयोग्य रहेको उनको भनाइ छ। यस सिजनमा स्पिनरहरूले पनि महइत्वपूर्ण भूमिका निभाएको उनले बताए।
कर्णाली याक्सको हार र आगामी रणनीतिको विषयमा
यता, पराजित कर्णाली याक्सका अलराउन्डर गुलसन झाले १३० रनभन्दा माथिको योगफल बनाउन सकेको भए जित निकाल्न सहज हुने बताए। तर, ब्याटिङमा अपेक्षित प्रदर्शन हुन नसक्दा समस्या आएको उनले स्वीकार गरे।
तेस्रो खेलमा आएको हारपछि टोलीको आत्मबल केही घटेको बताउँदै झाले काठमान्डू गोर्खाजसँगको हार ससाना गल्तीका कारण व्यहोर्नुपरेको उल्लेख गरे। अघिल्ला हारहरूलाई बिर्सेर अगाडि बढ्ने प्रयास गरे पनि त्यो सफल हुन नसकेको बताउँदै उनले आफूलाई दिइएको जुनसुकै भूमिकामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरे।




















