धरान – कोरोना भाइरसको कारण बन्द रहेको धरान ४ स्थित साहसिक खेल भेडेटारदेखि देवीथानसम्मको जिपलाइन आज सोमबारबाट पुनः संचालनमा आएको छ ।
वर्ल्डवाइड नेपाल ग्रुप प्रा. लि. ले करीब ३ करोड रुपैयाँको लगानीमा उक्त जिपलाइन गत वर्ष फागुन २४ गते उद्घाटन गरी खेल सुरू गरेको थियो । उक्त जिपलाइन भेडेटारदेखि देवीथानसम्म ६ सय ५० मिटर लामो रहेको छ । जिपलाइनमा ३० देखि ४० सेकेण्डसम्म साहसिक मजा लिन सकिने सञ्चालक बिवश भण्डारीले बताएका छन ।
उक्त जिपलाइनमा तीनवटा आइटम रहेको छ । जसमा क्लासिक, सुपरम्यान र कपल जिपलाइन रहेका छन् । क्लासिक जिपलाइन अर्थात बसेर गरीने जिपलाइनको १२ सय रुपैयाँ पर्ने बताइएको छ । यसैगरी सुपरम्यान अर्थात घोप्टो सुतेर गरीने जिपलाइनको १५ सय रुपैयाँ र टेण्डम अर्थात कपल जिपलाइनको २ हजार रुपैयाँ पर्ने अर्का सञ्चालक बिवश भण्डारीले जानकारी दिएका छन् । उनले साहसिक खेल जिपलाइनको मजा लिन आउने पर्यटकहरुका लागि ५ लाख रपैयाँ बराबरको दुर्घटना बिमा समेत रहने बताइएको छ ।
जिपलाइनमा ८ बर्षदेखि माथिको उमेर समूहले मजा लिन सक्ने छन् । बालबालिकालाई भने अभिभावकसंग टेण्डम जिपलाइन गराइनेछ । उक्त जिपलाइन निर्माणको लागि प्रयोग गरीने सम्पुर्ण सामग्री अमेरीका, फ्रान्स लगायतका अन्तराष्ट्रिय कम्पनिबाट ल्याइएको भण्डारीले बताए । धरानको जिपलाइनको ब्रेकिङ लोड ११ टन रहेको बताइएको छ । चाँडपर्वको अवसरमा छठ सम्म जिपलाइनमा २० प्रतिशत छुट समेत रहेको उनले जनाए ।