काठमाडौँ | १० दिनअघि अन्तर्राष्ट्रियतर्फ आंशिक नियमित उडान खुला गरेको सरकारले शुक्रबारदेखि लागू हुने गरी उडान कोटा हटाएको छ । अब पीसीआर परीक्षण सहज भएका मुलुकबाट विदेशी तथा स्वदेशी वायुसेवा कम्पनीलाई मागे जति उडान अनुमति दिइने भएको छ ।
‘यात्रुको पीसीआर नेगेटिभ हुनुपर्यो, वायुसेवा कम्पनीले मागेअनुसार अनुमति दिइने छ, अब कोटा हुँदैन,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बिहीबार कान्तिपुरसँग भने । यसअघि भदौ १४ गतेको मन्त्रिपरिषद् बैठकले चार्टर र नियमित दुबै उडानबाट आउने यात्रुको संख्या ३ सय थप्दै ८ सय पुर्याएको थियो । त्यसअघि दैनिक यात्रु संख्या ५ सयको कोटा थियो ।
यो निर्णयले सबैभन्दा ठूलो राहत युरोप तथा अमेरिकालगायत पीसीआर सहज भएका मुलुकमा ५ महिनादेखि अलपत्र परेका नेपालीलाई हुने छ । सरकारले पर्यटकलाई भने अझै नेपाल आउन अनुमति दिइसकेको छैन । तर, नेपालमा कूटनैतिक नियोग, दूतावास, अन्तर्राष्ट्रिय विकास साझेदार संस्था, संयुक्त राष्ट्र संघका नियोगमा कार्यरत कर्मचारी र तीनका परिवारलाई भने पीसीआर तथा भिषाका आधारमा आउन छुट नै छ ।
यो निर्णय बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलबिच भएको उच्चस्तरीय छलफलपछिको सहमतिबाट भएको पर्यटनमन्त्री भट्टराईले बताए । उनले यस विषयलाई आवश्यक परेमा मन्त्रिपरिषद्ले अनुमोदन गर्न सक्ने बताए ।
यो निर्णयले मनपरी भाडा असुलिरहेका वायुसेवाबीच प्रतिस्पर्धा हुने अपेक्षा मन्त्रालयको छ । तर, पीसीआरबाहेक विधिबाट जाँच भएका र जाँचै नगरेर यात्रु ल्याएमा ती सबैलाई ७ दिन काठमाडौंका होटल क्वारेन्टाइन राखिने छ । ‘पीसीआर नेगेटीभ भएका र जाच नगरेका यात्रु मिसाएर ल्याउन पाइने छ,’ मन्त्री भट्टराईले भने, ‘यदि त्यस्तो पाइएमा त्यो वायुसेवा कम्पनीकै खर्चमा सबै यात्रुलाई होटलमा राखिने छ ।’
त्यसैगरी पीसीआर सहज नभएका श्रम गन्तव्यमा अलपत्र नेपालीलाई पनि अब स्वदेश फर्किन सहज गरिएको छ । ‘विदेशस्थित कुनै कम्पनीले आफ्नो खर्चमा उसँग रहेका कामदारलाई नेपाल फर्काउन चाहेमा त्यस्तो प्रस्तावलाई पनि प्राथमिकतामा राखेर उडान अनुमति प्रदान गरिने छ,’ मन्त्री भट्टराईले भने ।
यस विषयमा बिहीबारै पर्यटन, श्रम र उपप्रधानमन्त्रीबीच छुट्टै छलफल भएको थियो । ‘श्रम कल्याणकारी कोषबाट उद्धार गर्नु पर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशमा रहेको नेपाली नियोगसँग समन्वय गर्नुपर्ने छ,’ पर्यटनमन्त्रीले कान्तिपुरसँग भने, ‘दूतावासको सूचीअनुसार, उडानको व्यवस्था गरिने छ दूतावासले माग्नु पर्यो । मागका आधारमा उडान संख्या थपिने छ ।’ पीसीआर जाँच सहज नभएका मुलुकबाट आउने यात्रुले भने काठमाडौंका होटलमा ७ दिन क्वारेन्टाइनमा बस्नुपर्ने छ । सरकारले उनीहरुलाई जाँच गरेर थप १४ दिन होटल क्वारेन्टाइन बस्ने सर्तमा मात्रै घर पठाउने छ ।
बिहीबारसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय यात्रु ल्याउन बिहान ६ देखि बेलुकी ६ बजेसम्म समयसीमा थियो । अब त्यो सीमा पनि हट्ने छ । ‘उडान संख्या वृद्धि हुँदा त्यो नियम पनि हट्ने छ’ मन्त्री भट्टराईइले भने ।
तर, आन्तरिकतर्फ उडान भने असोज १५ पछि मात्रै हुनेछ । ‘मन्त्रालयले असोज १५ पछि आन्तरिक उडान सुचारु गर्ने प्रस्ताव पठाएको छ,’ उनले भने । यसअघि असोज १ गतेदेखि आन्तरिक उडान सुचारु गर्ने भनिएको थियो ।
साभार: कान्तिपुर