धनगढी।प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता २०८०’को उपाधि मधेश प्रदेशले हात पारेको छ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शुक्रबार सम्पन्न फाइनलमा विभागीय त्रिभुवन आर्मी क्लबलाई ११ रनले पाखा लगाउँदै मधेशले उपाधि जितेको हो।
मधेशको जितमा सातौं नम्बरमा मैदान प्रवेश गरेका विशाल पटेल नायक बने। नटआउट रहँदै ३२ बलमा तीन चौका र तीन छक्कासहित टोलिका लागि उनले सर्वाधिक ४९ रन जोडे।
यसअघि समूह ‘सी’मा रहेको मधेशले रनरेटका आधारमा अन्तिम चारमा आफ्नो स्थान बनाएको थियो। सेमिफाइनलमा सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबलाई ११ रनले पराजित गर्दै मधेश अन्तिम दुईमा प्रवेश गरेको थियो। समूह ‘डी’को विजेता बन्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको आर्मीले सेमिफाइनलमा बागमती प्रदेशलाई चार विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।
फाइनलमा टस जितेर पहिलो ब्याटिङ गरेको मधेशले २० ओभर खेल्दै आठ विकेटको क्षतिमा १३५ रनको मध्यम योगफल तयार गरेको थियो। १३६ रनको लक्ष्य पछ्याउँदै मैदान छिरेको आर्मी २० ओभर खेल्दै सात विकेटको क्षतिमा जम्मा १२४ रनमा सीमित हुन पुगेको थियो।

























