पाँचौँ मेचीनगर गोल्डकप फागुन २४ गतेदेखि सुरू, उद्घाटनका दिन महिलालाई निःशुल्क प्रवेश

भारतीय पूर्व कप्तान क्षेत्री र भाइचुङ भोटिया विशेष अतिथि

मेचीनगर, १४ फागुन : पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिता आगामी फागुन २४ गतेदेखि चैत २ गतेसम्म झापाको काँकरभिट्टामा आयोजना हुने भएको छ। प्रतियोगिताको उद्घाटनका दिन फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिलाहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

यस प्रतिष्ठित प्रतियोगितालाई भव्य बनाउन भारतीय फुटबलका पूर्व कप्तान सुनिल क्षेत्री र चर्चित खेलाडी भाइचुङ भुटिया विशेष अतिथिका रूपमा उपस्थित हुनेछन्।

प्रतियोगिताको मुख्य प्रायोजक होटल मेची क्राउन (एचएमसी) रहेको छ। संस्थागत सहयोगमा कोशी प्रदेश खेलकुद विकास बोर्ड, मेचीनगर वडा नं. ६ कार्यालय, काँकरभिट्टा खानपिन उपभोक्ता तथा सरसफाइ संस्था, नाइट सेन क्लब, काँकरभिट्टा भ्रातृ फुटबल क्लब, रोहित क्लब (धुलाबारी) र पूर्व मेची बस यातायात प्रा.लि. रहेका छन्।

प्रतियोगितामा नेपाल तथा भारतका ८ उत्कृष्ट टोलीहरू भिड्नेछन्। नेपालका ए डिभिजन क्लबहरू एपीएफ फुटबल क्लब (काठमाडौँ), मच्छिन्द्र फुटबल क्लब (काठमाडौँ) र चर्च ब्वाइज युनाइटेड (ललितपुर) प्रतिस्पर्धामा उत्रनेछन्। भारतबाट जर्जीयन युनाइटेड (कालिम्पोङ) र ग्लोबल एफसी (आसाम) सहभागी हुनेछन्। साथै, नेपाली क्लबहरू धरान फुटबल क्लब, झापा एफसी (एनएसएल) र आयोजक टोली काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले पनि सहभागिता जनाउनेछन्।

प्रतियोगिताका उत्कृष्ट खेलाडी तथा टोलीका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। विजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५ लाख रुपैयाँ जित्नेछ। व्यक्तिगत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूका लागि पनि विभिन्न पुरस्कार तोकिएको छ। उत्कृष्ट खेलाडीलाई ५१ हजार रुपैयाँ, सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँ, उत्कृष्ट प्रशिक्षक (कोच) र उत्कृष्ट गोलरक्षकलाई २१-२१ हजार रुपैयाँ, तथा उदयमान खेलाडीलाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ। साथै, प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार रुपैयाँ पुरस्कार दिइने छ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण खेलाडी डट कम मार्फत हुनेछ। सञ्चार संयोजनको जिम्मेवारी प्रेस क्लब मेचीनगर, पत्रकार महासंघ (झापा) र नेपाल खेलकुद पत्रकार मञ्च (झापा) ले लिएका छन्। फोटो तथा भिडियो व्यवस्थापन Your Entertainment House ले गर्नेछ।

यसै अवसरमा गोल्ड कपको अफिसियल टिसर्टको अनावरण समेत गरेका थिए ।

प्रतियोगिता सफल बनाउन करिब ८० लाख रुपैयाँ खर्च लाग्ने आयोजक समितिले जनाएको छ। पत्रकार भेटघाट कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, आयोजक समितिका संयोजक तथा कोशी प्रदेशका पूर्व सांसद श्रीप्रसाद मैनाली, सहसंयोजक तथा पूर्व नगरप्रमुख विमल आचार्य, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मगर (मामा), आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष दिनेश ओली लगायतले शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रमको सञ्चालन आयोजक समिति सचिव राजु कार्की ले गरेका थिए।

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.