२० माघ, मेचीनगर : निर्वाचन आउन महिनौंदिन देखि दैनिकजसो गाउँ पसेका उम्मेद्वार चुनाव जितेपछि गाउँघरतिर फर्केर नआउने परिपाटीको अन्त्य गर्न मतदाताले आग्रह गरेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि राजनीतिक दल र स्वतन्त्र उम्मेद्वारहरुले मनोनयन गरे पछि मतदातालाई आफ्नो पक्षमा पार्न विभिन्न वहनामा गाउँ पस्न थालिसकेका छन् । गाउँ पसेका प्रत्येक उम्मेद्वारलाई अहिले मतदाताहरुले लगाउने एउटै आरोप छ—‘चुनाव जितेर गएपछि नेताहरू गाउँ नै फर्कैर आउदैेनन्, गाउँको विकास बिर्सन्छन् । ’
आसन्न फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्र उम्मेद्वारहरुले आफ्नो उम्मेद्वारी मनोनयन गरे लगत्तै गाउँ पस्न थालीसकेका छन् । ‘चुनावका बखत गाउँगाउँ छिर्ने विभिन्न दलका मात्र होईन स्वतन्त्र उम्मेद्वार समेत चुनाव जितिसकेपछि गाउँ फर्किन्दैनन्’ झापा मेचीनगर —१२ का बुद्धराम तिम्सिनाले भने,‘अनि मतदाताले चुनावका बखत उठाएका मुद्धा, निर्वाचनपछि ओझेलमा पर्छन् । ’
यसअघिका उम्मेदवारहरूले जिल्लामा देखापरेका नागरिकको समस्याहरू समाधान गर्न विभिन्न आश्वसनहरू बाँडेर निर्वाचन जितेपछि थुप्रै उम्मेद्वार गाउँ नफर्कि उनीहरुको कार्यकाल समाप्त भएको झापा बुद्धशान्तिका केशव थापाको आरोप छ । यतिखेर फागुन २१ गते हुन गईरहको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जिल्लाका सवै निर्वाचन क्षेत्रमा उम्मेद्वारसहित पार्टीका नेता कार्यकर्ताहरु गाउँ पस्ने क्रम शुरु भईसकेको छ ।
‘चुनावका बखत भोट माग्न विशेषगरी सबै उम्मेदवारहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार निर्माण र निःशुल्क किसानलाई मल र बिउ–वितरणजस्ता मुद्धा उठाउने गरेको थापाको भनाई छ । ‘हार्ने उम्मेद्वार त गाउँ फर्किने कुरै भएपनि जितेर गएका उम्मेद्वार समेत उसवेला बोलेको बाचा पुरा गर्न गाउँ फर्किने गरेका छैनन् ।’ भद्रपुर—९ का हरिकृष्ण शर्माले भने ।

०६४ पछिका हरेक निर्वाचनमा सहभागी हुँदै आएका झापा मेचीनगर —३ का मनोज कार्कीका अनुसार विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका उम्मेदवारहरूले निर्वाचन जित्नकै लागि विभिन्न मुद्धाहरू उठाउने गरे तापनि निर्वाचनपश्चात् ती सबै मुद्धा कार्यान्वयन नगर्दा ओझेलमा पर्दै आएका छन् । ‘अब चुनाव जितेर राजधानी बस्ने होइन, आफ्नै क्षेत्रमा आएर त्यहाँको समस्या बुझ्ने र समाधानतर्फ लाग्नुपर्छ ।’ थापाले भने । सम्बन्धित क्षेत्रका मतदाताले निर्वाचनको समयमा गाउँमा देखापरेका नेतालाई मतदान गरी पठाएपनि गाउँ नफर्फिदा आफ्ना समस्या राख्नसमेत छाडेको भद्रपुर नगरपालिका–१० का दलबहादुर सापकोटा बताउँछन् । विगतका चुनावमा बनाएका नाराजस्तै धेरै राजनीतिक दलका उम्मेदवारले यस वर्ष पनि उही पुरानै नारा अघि सारेको र यी नारा पछि पुरा हुनेमा मतदाताले विश्वास नगर्ने उनको दाबी छ ।
नेपालमै रोजगारी, सडक, जलविद्युत्, खानेपानी र दिगो पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यमा गुणस्तर सुधार र किसानलाई मल, बिउ, अनुदानलगायतका मुद्धा थुप्रै निर्वाचनमा अघि सारेपनि चुनापछि सवै विर्सिने गरेको उनको आरोप छ । । धेरै चुनाव भए, धेरै नेता गाउँमा भोट माग्न आउँदा गाउँमा सडक, खानेपानी ल्याइदिने आश्वासन दिएर चुनाव जितेर गए । तर, गाउँमा अहिलेसम्म पानी ल्याएनन् । यसपटकको निर्वाचनमा पनि उस्तै श्रृखला रहेको मेचीनगर –७, का गजेन्द्र खड्काले बताए । गाउँमा खानेपानी, सडक, विद्युत, सञ्चार नभएकै कारण धेरै नागरिकले गाउँ छाडर शहर बसेपकिा छन् । जस्का कारण ग्रामीणक्षेत्र सुनशान झै रहेको मेचीनगर–७ भान्साखोलाका गणपति चौधरीले बताए ।
सडकको स्तरोन्नति गर्ने, गाउँमा सबै घरघरमा खानेपानी पु¥याउने, गाउँको विद्यालयलाई सुधार गरी उच्च शिक्षा गाएामै दिलाउने, आश्वासन पाए पछि यसअघिका निर्वाचनमा मतदातन गरी जिताएका नेताहरू पुनः गाउँ नफर्किएकोमा साह्ै दुःख लागेको उनको गुनासो छ । यस पटकका उम्मेदवारहरूले पनि निर्वाचनमा पुरानै राजनीतिक दलका नेताहरूले जस्तै शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र रोजगारीको मुद्धा अघि सारेको मतदाताहरुको भनाई छ ।
अहिले मतदाता खोज्दै उम्मेदवारहरु घरघरै धाउनुपर्ने अवस्था छ । पछि चुनाव जितेर गएपछि मतदाताले नेता खोज्ने अवस्था पैदा हुने स्थानीय मनोज दर्जीको अनुभव छ । ‘अहिले मतदाता कुन घरमा बस्छन् कहाँ छन् भनेर खोज्दै गाउँ गाउँ उम्मेदवार पुग्छन् ’दर्जीले भने, ‘मतदाता भेट्ने र आफ्ना एजेण्डा सुनाउँदै भोट मागिरहेका छन् । पछि हामीले यसैगरी भेट्न जानुपर्छ । ’
अब त चुनावले छपक्कै छोपिसकेको छ । मतदानको मिति आउन एक महिनामात्र बाँकी रहँदा शहरी र सुगम क्षेत्रका उम्मेदवारहरू निर्वाचन क्षेत्रभित्रै प्रचारप्रसारमा व्यस्त छन् । मतदाता खोज्दै शहर छिरेका छन् । चुनावताका नेताले बोलेका कुरा पुरा नहुँदा र जनताको दुःखमा साथ नदिँदा उनीहरूलाई ठूलै चोट परेको कुरा चुनावअघिको आक्रोशले स्पष्ट दर्शाउँछ । चुनाव जितेपछि कहिल्यै निर्वाचन क्षेत्र नफर्किने भन्ने आरोप खेप्दै आएका थुप्रै नेताहरु पछिल्लो समय सबैतिर पुग्ने गरेको बताउँछन ।


























