३० जेठ; काँकरभिट्टा : भारतको पश्चिम बंगाल राज्यमा राजनीतिक परिवर्तनपछि नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको छ । पूर्वी काँकरभिट्टा नाकासहित सबै सीमावर्ती क्षेत्रमा नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य गरिएको छ ।
नेपाली सरकारी अधिकारीहरुका अनुसार रोहिंग्या शरणार्थी लगायत अवैध प्रवेशको आशंकामा संयुक्त सुरक्षा टोली परिचालन समेत गरिएको छ । खुला सीमाको फाइदा उठाउँदैं बंगलादेशी नागरिकहरु अनधिकृत गैरकानूनी रुपमा नेपाल प्रवेश गर्न भने छाडेका छैनन् ।
यसैक्रममा शनिबार दिउसो पौने १ बजेतिर काँकरभिट्टा प्रहरीले झापाको मेचीनगर नगरपालिका वडा नम्बर -७ गैरीगाउँ हुदैं नेपाल प्रवेश गर्दै गरेका एकजना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भारतको पश्चिम बंगाल राज्यको रानीग्राम पञ्चायत अन्तर्गत पानीट्याँकीबाट मेचीनदी हुदैं नेपाल प्रवेश गर्न लागेका बंगलादेशी नागरिक तुलाटोली कचुवा मनोहरपुर ३६३० चन्द्रपुर बस्ने वर्ष ३३ का एमडी सैफूल इस्लामलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले नियन्त्रणमा लिइएको हो ।
बंगलादेशको राहादानी बोकेर गैरकानूनीरुपमा नेपाल प्रवेश गर्न लाग्दा गोप्य सूचनाका आधारमा पक्राउ परेका उनलाई आवश्यक कारवाहीका लागि अध्यगमन कार्यालय काँकरभिट्टामा बुझाएको थियो । कार्यालयले प्रहरीको जिम्मा लगाएर थप अनुसन्धानका लागि काठमाडौंको कालिकास्थानस्थित अध्यागमन विभाग पठाएको अध्यागमन कार्यालय काँकरभिट्टाले जानकारी दिएको छ ।
सीमा क्षेत्रमा अवाञ्छित गतिविधि नियन्त्रणका लागि कडाइ गरिए पनि बंगलादेशी पक्राउ परेको यो पहिलो घटना भने होइन् । यसअघि पनि झापाको काँकरभिट्टा नाका हुँदै मेचीनगर नगरपालिका वडा नम्बर-७ भएरै नेपाल प्रवेश गर्न खोजेका दुई जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो । काँकरभिट्टाको मुख्य नाका प्रयोग नगरी चोरी बाटो हुँदै प्रवेशाज्ञा बिना नेपाल प्रवेश गर्ने क्रममा सशस्त्र प्रहरी बलको बोडर आउट पोस्ट (बीओपी) सतिघट्टाको टोलीले पक्राउ गरेको थियो ।
साँझमा सशस्त्र प्रहरीको टोलीले नेपाल प्रवेश गर्दै गरेको अवस्थामा पक्राउ गरेका बंगलादेशी नागरिक दुवै जनासँग आफ्नो परिचय खुल्ने कुनै कागतपत्र नभएको र साथमा १ हजार ५ सय टाका (बंगलादेशी रुपैयाँ) तथा २ थान मोबाइल बरामद भएको प्रहरीले जनाएको थियो ।उनीहरुलाई पनि तत्कालै काँकरभिट्टास्थित अध्यागमन कार्यालयमा बुझाइएको कार्यालयले उनीहरुलाई काठमाडौंस्थित अध्यागमन विभाग पठाएको कार्यालयको भनाई छ ।
१९ जेठमा ब्याकमेल गरी पैसा माग्ने जस्ता अवैध गतिविधिमा संलग्न रहेको अभियोगमा प्रहरीले काठमाडौंबाट १५ जना बंगलादेशी नागरिकहरूलाई पक्राउ गरेको थियो ।
काठमाडौंको ठमेल एरियामा बंगलादेशी लगायतका नागरिकहरूले भिजिट भिसामा नेपालाई आई भिसाको उद्देश्य विपरीत शंकास्पद रूपमा बसेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको समाचार बाहिरीएको थियो ।
प्रारम्भिक अनुसन्धानमा उनीहरूले काठमाडौं महानगरपालिका–१६ पकनाजोलस्थित होटल एसको चौथो, पाँचौं र छैटौं तल्लाका कोठाहरू भाडामा लिई अवैध रूपमा विदेशी मोडल तथा युवतीहरूको फेक फेसबूक एकाउन्ट बनाई बंगलादेशी र भारतीय नागरिकहरूलाई साथी बनाई कुराकानी गर्ने, ब्ल्याकमेल गरी पैसा माग्ने जस्ता अवैध गतिविधिमा संलग्न भएको खुल्न आएको थियो ।
पक्राउ परेका १५ जनालाई नै अध्यागमन ऐन अन्तर्गतको कसूरमा आवश्यक अनु्सन्धान तथा कारवाहीका लागि काठमाडौंको कालिकास्थानस्थित अध्यागमन विभागको जिम्मा लगाइएको थियो ।

























