रास्वपाको ठूलो निर्णय: केन्द्रीय सदस्य १५८ र सचिवालय ३३ सदस्यीय बनाइने, विधानमै ‘वरिष्ठ नेता’ को व्यवस्था गरिँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सङ्गठनात्मक संरचनामा व्यापक परिमार्जन गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको सचिवालय बैठकले केन्द्रीय समितिको आकार बढाउने, पदाधिकारी सङ्ख्या थप गर्ने र विधानमा ‘वरिष्ठ नेता’ को प्रावधान समेट्ने लगायतका दूरगामी निर्णयहरू गरेको छ।

केन्द्रीय सदस्य १५८ पुर्‍याइयो, सभापतिले ५१ जना मनोनीत गर्न पाउने
नयाँ निर्णयअनुसार अब रास्वपाको केन्द्रीय सदस्य सङ्ख्या १ सय ५८ कायम हुनेछ। यसमा सातवटै प्रदेश समितिका सभापतिहरू पदेन केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ। विभिन्न पार्टीबिचको समायोजन, निर्वाचन अगाडिका सहमति र पार्टीमा जोडिएका स्वतन्त्र व्यक्तिहरूलाई उचित सम्बोधन गर्नका लागि केन्द्रीय समितिमा सभापतिले मनोनीत गर्ने सदस्य सङ्ख्या बढाएर ५१ पुर्‍याइएको छ।

विधान संशोधनमार्फत ‘वरिष्ठ नेता’ को पद कायम
सहमहामन्त्री विपिन आचार्य संयोजकत्वको विधान संशोधन समितिले बुझाएको प्रतिवेदनमा यसअघि ‘वरिष्ठ नेता’ को पद उल्लेख थिएन। पार्टीमा वालेन्द्र शाह वरिष्ठ नेताको भूमिकामा रहे पनि विधानमा उक्त पदको औपचारिक व्यवस्था भने थिएन। अब सचिवालयको निर्णयपछि पहिलो महाधिवेशनमार्फत विधान संशोधन गरी वरिष्ठ नेताको पदलाई कानुनी रूपमै कायम गरिने भएको छ।

पदाधिकारी सङ्ख्या थप र लैंगिक समावेशीकरण
विधान संशोधन समितिले सुरुमा १६ जना मात्रै पदाधिकारी रहने प्रस्ताव गरे पनि सचिवालय बैठकले पदाधिकारीको सङ्ख्या बढाउँदै लैंगिक रूपमा समावेशी बनाउने निर्णय गरेको छ। नयाँ व्यवस्थाअनुसार रास्वपामा अब निम्नअनुसारका पदाधिकारी रहनेछन्:

  • सभापति: १
  • वरिष्ठ नेता: १
  • उपसभापति: ३ (अनिवार्य १ महिला)
  • महामन्त्री: २
  • सहमहामन्त्री: ५ (अनिवार्य १ महिला)
  • प्रवक्ता: १ र सहप्रवक्ता: ३ (अनिवार्य १ महिला)
  • कोषाध्यक्ष: १ र सहकोषाध्यक्ष: २ (अनिवार्य १ महिला)

यसका साथै १ उपसभापति र २ सहमहामन्त्रीलाई मनोनीत गर्ने कि भन्नेबारे पनि बैठकमा छलफल भएको तर यसबारे अन्तिम निर्णय हुन बाँकी रहेको एक सचिवालय सदस्यले जानकारी दिएका छन्।

महाधिवेशनपछि ३३ सदस्यीय सचिवालय गठन हुने
पहिलो महाधिवेशन सम्पन्न भएपछि गठन हुने रास्वपाको सचिवालयलाई ३३ सदस्यीय बनाउने निर्णय गरिएको छ। यस शक्तिशाली सचिवालयमा पार्टीका सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री, प्रवक्ता र कोषाध्यक्ष स्वतः पदेन सदस्य बन्ने प्रावधान राखिएको छ। यो नयाँ साङ्गठनिक मार्गचित्रले रास्वपालाई बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्रको दिशामा अझ सुदृढ बनाउने विश्वास पार्टीले लिएको छ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.