काठमाडौँ । यस वर्षको मनसुन सरदर मितिभन्दा ६ दिन ढिलो गरी नेपाल भित्रिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रवार (जुन १९) देखि मनसुन कोसी प्रदेशका पूर्वी भूभागहरूबाट नेपालमा औपचारिक रूपमा प्रवेश गरेको हो।
नेपालको पूर्वी भागबाट मनसुनको आगमन हुने सरदर मिति जुन १३ (जेठ अन्तिम साता) मानिन्छ। तर, यस पटक वायुमण्डलीय प्रणालीमा आएको बदलाबका कारण मनसुन ६ दिन ढिलो गरी नेपाल आइपुगेको मौसमविद्हरूले बताएका छन्।
हाल मनसुन कमजोर, अन्य भूभागमा पुग्न केही दिन लाग्ने
मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपाल भित्रिएको प्रारम्भिक चरणमा मनसुन हाल निकै कमजोर अवस्थामा रहेको छ। कोसी प्रदेशका केही भूभागमा मात्र सक्रिय रहेको यो प्रणाली देशका अन्य पश्चिमी तथा मध्य भूभागहरूमा पूर्ण रूपमा विस्तार हुन अझै केही दिन लाग्ने महाशाखाले जानकारी दिएको छ।
मनसुन विस्तारै पश्चिमतर्फ बढ्ने क्रममा रहेकाले कोसी प्रदेशका विभिन्न जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना सुरु भइसकेको छ। वर्षाको आगमनसँगै लामो समयदेखि तराई र पहाडी क्षेत्रमा बढ्दै गएको अत्यधिक गर्मी (लु) बाट सर्वसाधारणले केही राहत पाउने अपेक्षा गरिएको छ। मौसम विभागले मनसुन अवधिभर बाढी, पहिरो र डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन समेत आम नागरिक तथा सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ।


























