राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारलाई औपचारिक कार्यक्रममा सहभागी हुन रोक लगाएको छ। सुनारसँग सम्बन्धित विवादास्पद अडियो सार्वजनिक भएपछि पार्टीले आन्तरिक छानबिन अघि बढाउँदै यस्तो निर्णय गरेको हो।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले मंगलबार जारी गरेको विज्ञप्तिमा सुनारका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री तथा उठाइएका गम्भीर प्रश्नप्रति पार्टीको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
सुनारमाथि महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेन जस्ता आरोप सार्वजनिक भएका छन्। पार्टीले यस्ता विषयलाई गम्भीर र संवेदनशील रूपमा लिएको जनाएको छ।
केन्द्रीय अनुशासन आयोगले छानबिन गर्ने
रास्वपाले घटनाको सत्यतथ्य पत्ता लगाउन पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।
पार्टीका अनुसार अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्ने उद्देश्यले छानबिनको निष्कर्ष नआएसम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको हो।
रास्वपाले महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन तथा फौजदारी कसुरसँग सम्बन्धित विषयमा आफूहरूको शून्य सहनशीलताको नीति रहेको पनि स्पष्ट पारेको छ।
राज्यको अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता
पार्टीले सार्वजनिक भएका विषयमा राज्यका सम्बन्धित निकायबाट पनि स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गरेको छ।
त्यस्तो अनुसन्धान प्रक्रियामा पार्टीका तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि रास्वपाले जनाएको छ। अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानबमोजिम थप कदम चालिने पार्टीको भनाइ छ।
रास्वपाले ‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा आफू दृढ रहेको उल्लेख गर्दै कानुन उल्लङ्घन वा पदीय आचरणविपरीत कार्य गर्ने जोसुकैलाई राजनीतिक संरक्षण नदिने स्पष्ट पारेको छ।
सुनारसँग सम्बन्धित अडियो सार्वजनिक भएपछि यसअघि नै उनी विवादमा परेका थिए। पछिल्लो पार्टी निर्णयसँगै उनीमाथि उठेका आरोपबारे राजनीतिक तथा कानुनी रूपमा थप अनुसन्धान हुने भएको छ।



























