५ असार, इटहरी : नेपाल स्काउटको ७५औँ स्थापना दिवसका अवसरमा कोशी प्रदेश स्काउट कार्यालयको आयोजनामा तथा स्थानीय स्काउट कार्यालय, इटहरी उपमहानगरपालिकाको व्यवस्थापनमा आयोजित “मूल समारोह तथा सम्मान कार्यक्रम–२०८३” इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ।
कोशी प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश प्रमुख स्काउट तथा सामाजिक विकास मन्त्री रामप्रसाद मेहता प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा विराटनगर महानगरपालिकाका नगर प्रमुख तथा स्थानीय प्रमुख स्काउट नागेश कोइराला, उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीनाकुमारी खतिवडा लगायत विभिन्न स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधिहरूको विशिष्ट उपस्थिति रहेको थियो।
समारोहको सुरुआत डिभिएम स्काउट दलले प्रस्तुत गरेको आकर्षक स्वागत नृत्यबाट भएको थियो। प्रदेश सुशासन, स्रोत विकास तथा वित्त आयुक्त समर्पण खतिवडाले स्वागत मन्तव्य व्यक्त गर्दै स्काउट अभियानले समाजमा अनुशासन, नेतृत्व विकास र स्वयंसेवाको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो।
कार्यक्रममा नेपाल स्काउटको अभियानलाई स्थानीय तह र शैक्षिक संस्थामार्फत प्रभावकारी रूपमा विस्तार तथा प्रवर्द्धन गर्न योगदान पुर्याएका विभिन्न व्यक्तित्व तथा संस्थाहरूलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो।
सम्मानित हुने स्थानीय तहका संरक्षक तथा नगर प्रमुख/गाउँपालिका अध्यक्षहरूमा विराटनगर महानगरपालिकाका नागेश कोइराला र धरान उपमहानगरपालिकाका अइन्द्रविक्रम बेघा रहेका थिए। त्यसैगरी, स्थानीय प्रमुख स्काउटका रूपमा गौरादह नगरपालिकाकी जलवर्षा राजवंशी तथा उर्लाबारी नगरपालिकाकी मीनाकुमारी पौडेल सम्मानित हुनुभयो। सामाजिक विकास मन्त्रालयका उपसचिव दुर्गाप्रसाद सिग्देललाई पनि स्काउट अभियानमा पुर्याएको योगदानको कदरस्वरूप सम्मान गरिएको थियो।
स्थानीय स्काउट कार्यालयतर्फ मेचीनगर नगरपालिका, लेटाङ नगरपालिका र सुन्दरहरैँचा नगरपालिका सम्मानित भएका थिए। त्यस्तै, विद्यालयस्तरमा स्काउट कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरी उत्कृष्ट योगदान पुर्याएका सरस्वती माध्यमिक विद्यालय (मोलुङ गाउँपालिका), मादी माध्यमिक विद्यालय (मादी नगरपालिका), सिंहदेवी माध्यमिक विद्यालय (फाकफोकथुम गाउँपालिका), जडेज माध्यमिक विद्यालय (बराहक्षेत्र नगरपालिका) तथा पोखरिया माध्यमिक विद्यालय (विराटनगर) लाई समेत सम्मान प्रदान गरिएको थियो।
प्रमुख अतिथि रामप्रसाद मेहताले स्काउट आन्दोलनले युवापुस्तामा राष्ट्रप्रेम, अनुशासन, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्याइरहेको उल्लेख गर्दै स्थानीय तह, विद्यालय र समुदायस्तरमा स्काउट गतिविधि अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो।
अध्यक्ष हेमन्त भण्डारीले कोशी प्रदेशमा स्काउट गतिविधिको विस्तार, सदस्यता वृद्धि र गुणस्तरीय कार्यक्रम सञ्चालनमा सबै स्थानीय तह, विद्यालय तथा स्काउट स्वयंसेवकहरूको योगदान उल्लेखनीय रहेको बताउँदै आगामी दिनमा स्काउट अभियानलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा राष्ट्रिय परिषद् सदस्यहरू, प्रदेश कार्यसमिति तथा प्रदेश परिषद्का सदस्यहरू, राष्ट्रिय तथा सहायक राष्ट्रिय प्रशिक्षकहरू, स्थानीय प्रमुख आयुक्तहरू, विद्यालयका प्रधानाध्यापकहरू, स्थानीय कार्यसमितिका पदाधिकारीहरू, स्काउट लिडरहरू, रोभर/रेन्जर तथा स्काउटका भाइबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
समारोहको अन्त्यमा प्रदेश सदस्यता वृद्धि आयुक्त सन्तोष घिमिरेले धन्यवाद मन्तव्य व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार प्रकट गर्नुभयो। स्काउटको ७५औँ स्थापना दिवसको अवसरमा आयोजित उक्त समारोहले स्काउट अभियानमा योगदान पुर्याउने व्यक्तित्व र संस्थाहरूको सम्मानसँगै प्रदेशभर स्काउट गतिविधिलाई थप ऊर्जा प्रदान गरेको सहभागीहरूको भनाइ थियो।


























