असोजमा झन्डै ६ अर्ब रुपैयाँको विद्युत् निर्यात, बङ्गलादेशतर्फको बिक्री पुनः सुरु

बाढीका कारण उत्पादन प्रभावित भए पनि गत वर्षको तुलनामा बढ्यो निर्यात, बङ्गलादेशतर्फ ४० मेगावाट विद्युत् पठाइँदै

A notice in Nepali from Mechinagar Ward No. 10
नेपालबाट भारत तथा बङ्गलादेशतर्फ भइरहेको विद्युत् निर्यातसम्बन्धी प्रतीकात्मक तस्बिर

📌 मुख्य बुँदाहरू:

  • चालु आर्थिक वर्षको असोज महिनामा ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात भएको छ।
  • भारतको प्रसारण प्रणाली प्रयोग गरी बङ्गलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात पुनः सञ्चालनमा आएको छ।
  • गत वर्षको असोज र चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा असोजमा विद्युत् निर्यात कारोबार बढेको प्राधिकरणले जनाएको छ।
  • चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विद्युत् निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ।

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ। बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भई निर्यातमा केही असर परे पनि गत वर्षको असोज र चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा यस वर्ष असोजमा विद्युत् निर्यातको कारोबार बढेको छ। यसैबीच, भारतको प्रसारण प्रणाली प्रयोग गरी बङ्गलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात पनि पुनः सुरु भएको छ।

नेपाल विद्युत् प्राधिकरणको विद्युत् प्रणाली सञ्चालन विभाग (भार प्रेषण केन्द्र) को तथ्यांकअनुसार असोजमा भारततर्फ कुल ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत् निर्यात गरिएको छ। उक्त परिमाणको विद्युत् बिक्रीबाट ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको हो। प्राधिकरणले आन्तरिक माग पूरा गरी बचत भएको वर्षायामको विद्युत् भारत र बङ्गलादेशमा बिक्री गर्दै आएको छ।

site stats
site stats

निर्यातका विभिन्न माध्यम र तुलनात्मक तथ्यांक

असोज महिनामा भारततर्फ दुई प्रमुख माध्यमबाट विद्युत् निर्यात गरिएको छ। द्विपक्षीय विद्युत् बिक्री सम्झौताअनुसार भारतका हरियाणा तथा बिहार राज्यमा विद्युत् बिक्री गरिएको छ भने बाँकी विद्युत् भारतीय ऊर्जा विनिमय बजारको डे-अहेड तथा रियल टाइम बजारमार्फत प्रतिस्पर्धी दरमा बिक्री गरिएको छ। द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार हरियाणा तथा बिहारमा जुनदेखि अक्टोबरसम्म विद्युत् बिक्री हुने गरेको छ।

तथ्यांकअनुसार गत वर्षको असोजमा भारततर्फ ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँको विद्युत् कारोबार भएको थियो भने चालु आर्थिक वर्षको भदौमा ५ अर्ब ९ करोड २५ लाख रुपैयाँको कारोबार भएको थियो। यस वर्षको असोजमा गत वर्षको सोही अवधिको तुलनामा ९६ करोड २० लाख रुपैयाँले र भदौको तुलनामा ८३ करोड २५ लाख रुपैयाँले निर्यात कारोबार बढेको छ। चालु आर्थिक वर्षको साउन, भदौ र असोज गरी पहिलो तीन महिनामा विद्युत् निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

Npl season 3
Npl season 3

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बाढीका कारण निर्यातका लागि स्वीकृति प्राप्त केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भए पनि समग्रमा असोज महिनामा विद्युत् निर्यातबाट प्राप्त हुने कारोबार रकममा वृद्धि भएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.