चक्रवात ‘अर्णव’को प्रभावलाई लिएर झापामा उच्च सतर्कता, सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन

कार्तिक १२ देखि १४ गतेसम्म वर्षा, हावाहुरी र बाढी–डुबानको जोखिम; अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न तथा धानबाली सुरक्षित गर्न आग्रह

A notice in Nepali from Mechinagar Ward No. 10

बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्णव’को प्रभावबाट हुनसक्ने सम्भावित धनजनको क्षति न्यूनीकरण गर्न झापामा सुरक्षा निकायसहित सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिन तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाअनुसार कार्तिक १२ गते बिहीबारदेखि १४ गते शनिबारसम्म कोशीसहित विभिन्न प्रदेशमा चक्रवातको प्रभाव पर्ने सम्भावना छ। विशेषगरी शुक्रबार र शनिबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश बढी प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ।

यस अवधिमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको तथा उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको विभागले जनाएको छ। वर्षाका कारण बाढी, पहिरो, डुबान, सडक तथा हवाई यातायातमा अवरोध आउन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न आग्रह गरिएको छ।

धानबाली सुरक्षित गर्न आग्रह

सम्भावित वर्षालाई ध्यानमा राख्दै किसानलाई धानबाली नकाटिएको भए समयमै काट्न र काटिसकेको भए सुरक्षित स्थानमा भित्र्याउन आग्रह गरिएको छ।

विशेषगरी कार्तिक १२ गतेअघि नै धान काट्ने तथा भित्र्याउने काम सक्न मौसमसम्बन्धी निकायले सुझाव दिएको छ।

अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न आग्रह

सडक तथा हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ।

भारी वर्षा भइरहेको समयमा जोखिमयुक्त स्थानमा सवारीसाधन नचलाउन, अकस्मात बाढी आउनसक्ने खोला तथा खहरेको बाटो हुँदै यात्रा नगर्न र नदी तथा खोला किनारमा विशेष सावधानी अपनाउन भनिएको छ।

खोला किनारमा माछा मार्ने, दाउरा संकलन गर्नेजस्ता जोखिमपूर्ण गतिविधि नगर्नसमेत सर्वसाधारणलाई अनुरोध गरिएको छ।

जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा सार्ने तयारी

पहिरोको जोखिममा रहेका स्थान तथा डुबान हुनसक्ने बस्तीका बासिन्दाले नजिकैको सुरक्षित र अग्लो स्थानबारे पूर्वजानकारी राख्न प्रशासनले आग्रह गरेको छ।

जोखिमको अवस्था देखिएमा स्थानीय तहको समन्वयमा त्यस्ता घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई भनिएको छ।

झापास्थित विपद्सँग सम्बन्धित स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई पूर्वतयारी अवस्थामा रहनसमेत आग्रह गरिएको छ।

आधिकारिक सूचनामात्र विश्वास गर्न आग्रह

मौसम तथा विपद्सम्बन्धी जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा अन्य आधिकारिक निकायबाट जारी हुने पूर्वानुमान, पूर्वसूचना र चेतावनीलाई मात्र आधार बनाउन प्रशासनले आग्रह गरेको छ।

चक्रवात ‘अर्णव’को प्रभाव नेपालमा बिहीबारदेखि देखिन थाल्ने र शुक्रबार तथा शनिबार बढी प्रभाव पर्न सक्ने पूर्वानुमानका कारण देशभर नै सतर्कता बढाइएको छ।

आपत्कालीन अवस्थामा यी नम्बरमा सम्पर्क गर्न सकिने

विपद् वा आकस्मिक अवस्था आएमा सर्वसाधारणले तत्काल सम्बन्धित निकायमा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ।

  • वर्षा तथा बाढीसम्बन्धी जानकारी : ११५५
  • जिल्ला प्रशासन कार्यालय, झापा : ९८५२६१७७७७
  • सूचना अधिकारी : ९८५२६७८९९९
  • अरिदमन गण चारआली, झापा ड्युटी अधिकृत : ९८६२६९४७४८
  • नेपाल प्रहरी : १००
  • सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापा : १११४ / ९८५१२७२१२५
  • जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र : १२३४ / ९८५२६५४१२३

प्रशासनले मौसम तथा विपद्सम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा लिइरहन र जोखिमको अवस्था देखिएमा सम्बन्धित निकायको निर्देशन पालना गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

[mero_group id="15734"]

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.