📌 मुख्य बुँदाहरू:
- पाँचखाल र पनौतीका रिसोर्टहरूबाट कुल ७६ जना शंकास्पद विदेशी नागरिकहरूलाई नियन्त्रणमा लिइएको छ।
- पाँचखालको ह्वाइट पार्क रिसोर्टबाट ३६ जना चिनियाँ र पनौतीको बल्थली माउन्टेन रिसोर्टबाट जापानी तथा चिनियाँ नागरिक पक्राउ परेका छन्।
- पक्राउ परेकाहरूबाट ठूलो संख्यामा ल्यापटप, मोबाइल फोन तथा शंकास्पद प्राविधिक उपकरणहरू बरामद गरिएको छ।
काभ्रेपलाञ्चोकका विभिन्न रिसोर्टबाट पक्राउ परेका ७६ जना विदेशी नागरिकलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन अध्यागमन विभागमा पठाइएको छ। जिल्लाका छुट्टाछुट्टै स्थानबाट शंकास्पद गतिविधिमा संलग्न उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धानका लागि विभागमा बुझाएको हो।
प्रहरीका अनुसार पाँचखाल नगरपालिका–७ स्थित ह्वाइट पार्क रिसोर्टबाट ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको थियो। जसमा ३१ पुरुष र ५ महिला रहेका छन्। उनीहरूको साथबाट ४९ थान ल्यापटप र १५५ थान मोबाइल फोन बरामद गरिएको छ। प्रारम्भिक जाँचका क्रममा उनीहरू करिब एक महिनादेखि रिसोर्ट भाडामा लिएर बसेको खुलेको छ।
रिसोर्टमा शंकास्पद संरचना र उपकरण बरामद
पक्राउ परेका विदेशी नागरिकहरू बसेका कोठामा मोबाइल र ल्यापटपका क्यामेरामा टेप टाँसिएको तथा सर्भरजस्तो देखिने छुट्टै कोठा तथा क्याबिनहरू निर्माण गरिएको पाइएको छ। प्रहरीले उनीहरूले प्रयोग गरेका उपकरणहरूको प्राविधिक परीक्षणपछि मात्र उनीहरूको वास्तविक गतिविधि खुल्ने जनाएको छ।
त्यस्तै, पनौती नगरपालिका–११ स्थित बल्थली माउन्टेन रिसोर्टबाट ३५ जना जापानी र ५ जना चिनियाँ नागरिकलाई समेत नियन्त्रणमा लिइएको थियो। दुवै रिसोर्टमा विदेशी नागरिकहरूले शंकास्पद ढंगले गतिविधि सञ्चालन गरिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। बरामद गरिएका उपकरण र कागजातका आधारमा अध्यागमन विभागले थप अनुसन्धान अगाडि बढाउने छ।




















