बेलायत–नेपाल व्यवसाय फोरम २०२६ मा नेपाल र बेलायतबिचको द्विपक्षीय साझेदारी र आर्थिक सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको छ।
📌 मुख्य बुँदाहरू:
- बेलायत–नेपाल व्यवसाय फोरम २०२६ काठमाडौंमा सम्पन्न भएको छ।
- उद्योग तथा वाणिज्यमन्त्री दिपककुमार शाहले आर्थिक कूटनीति र लगानी सुरक्षामा जोड दिएका छन्।
- नेपालका लागि बेलायतका राजदूत रब फेनले नेपालको समृद्धिमा सहयोग गर्न बेलायत तयार रहेको बताएका छन्।
नेपाल र बेलायतबिचको आर्थिक कूटनीतिलाई थप समृद्ध बनाउन सकेमात्र दुई मित्रराष्ट्रको आपसी साझेदारीमा बढोत्तरी हुने सरोकारवाला निकायका प्रतिनिधिहरूले जोड दिएका छन्। काठमाडौँमा बिहीबार आयोजित बेलायत–नेपाल व्यवसाय फोरम २०२६ मा दुई देशबिचको द्विपक्षीय साझेदारीसँगै बदलिदो विश्व परिवेशलाई समेत अवलम्बन गर्दै आर्थिक कूटनीति सबल बनाउनुपर्नेमा नेपाल सरकार तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिले जोड दिएका हुन्।
उक्त फोरममा सरकार एक्लैले देशको लक्षित समृद्धि हासिल गर्न नसक्ने भएकाले देशमा लगानीको वातावरण निर्माण गर्न आर्थिक कूटनीतिलाई चलायमान बनाउँदै व्यावसायिक समूहलाई पनि सरकारसँगै हातेमालो गरेर अघि बढ्ने वातावरण निर्माण हुनुपर्ने व्यावसायिक समूहहरूले औँल्याएका छन्।
मन्त्री शाहद्वारा लगानी सुरक्षाको प्रतिबद्धता
उद्घाटन समारोहमा सम्बोधनका क्रममा उद्योग तथा वाणिज्यमन्त्री दिपककुमार शाहले नेपाल र बेलायतबिच अटुट सम्बन्ध दर्शाउने ब्रिटिस गोर्खा सैनिक, ब्रिटिस काउन्सिल र स्ट्याण्डर्ड चार्टर्ड बैंकको सहकार्यको प्रशंसा गरेका छन्। उहाँले अहिलेको विश्वमा द्विपक्षीय कूटनीतिक सहकार्यले मात्र समृद्धिको लक्ष्य भेट्न नसक्ने उल्लेख गर्दै जनसम्बन्ध र आर्थिक कूटनीतिलाई पनि सँगै अघि लैजानुपर्ने बताए।
नेपालमा लगानीका लागि अथाह क्षेत्रमा सम्भावना रहेको उल्लेख गर्दै मन्त्री शाहले नवीकरणीय ऊर्जा, हरित प्रविधि, दिगो भौतिक पूर्वाधार निर्माण र सेवा क्षेत्रका लागि सरकारले बढी सहजीकरण गरिरहेको जानकारी दिए। अवसर छ भनेर मात्र विदेशबाट लगानी नबढ्ने स्वीकार गर्दै वर्तमान सरकारले लगानीको सुरक्षा प्रतिबद्धतामा ध्यान दिएको उहाँले बताए।
बेलायत सरकारको सहयोगको प्रतिबद्धता
नेपाल ब्रिटेन चेम्बर अफ कमर्श र नेपालस्थित बेलायतको दूतावासको आयोजनामा भएको उक्त फोरममा बोल्दै नेपालका लागि बेलायतका राजदूत रब फेनले नेपालको समृद्ध भविष्य बनाउने योजनामा बेलायत सरकार र त्यहाँका व्यवसायी सघाउन तयार रहेको प्रष्ट पारेका छन्।
📄 प्रेस विज्ञप्ति / सूचना




