१३ मंसिर २०८३ ☀️ २१°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

झापा प्रशासनको सेवा सुधार: राष्ट्रिय परिचयपत्र र राहदानीको काम एकै दिनमा

लामो समयदेखि पालो पर्खनुपर्ने बाध्यताको अन्त्य गर्दै जिल्ला प्रशासन कार्यालयले बिदाका दिनसमेत सेवा प्रवाह सुरु गरेपछि ‘पेन्डिङ’ फाइल शून्यमा झरेको छ।

सेयर:

लामो समयदेखि पालो पर्खनुपर्ने बाध्यताको अन्त्य गर्दै जिल्ला प्रशासन कार्यालयले बिदाका दिनसमेत सेवा प्रवाह सुरु गरेपछि ‘पेन्डिङ’ फाइल शून्यमा झरेको छ।

📌 मुख्य बुँदाहरू:

  • झापा प्रशासनले राष्ट्रिय परिचयपत्र र राहदानीको बायोमेट्रिक विवरण संकलन कार्य एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
  • ३५ दिनसम्म पालो कुर्नुपर्ने अवस्था अन्त्य गर्दै बिहान ७ देखि बेलुका ६ बजेसम्म र सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गरिएको छ।
  • सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क असुल्ने बिचौलियालाई नियन्त्रणमा लिई कारबाही गरिएको प्रशासनले जनाएको छ।

झापा जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। लामो समयदेखि थाती (पेन्डिङ) रहेका फाइलहरू फछ्र्योट गर्दै प्रशासनले सेवा प्रवाहलाई निकै सहज र छरितो बनाएको छ।

कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा बायोमेट्रिक दिन ३५ दिनसम्म पालो कुर्नुपर्ने बाध्यता रहेकोमा अहिले त्यो अवस्था पूर्ण रूपमा अन्त्य भएको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोको प्रतीक्षामा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र लामो समय कुर्नुपर्ने झन्झटलाई चिर्दै प्रशासनले सेवा सुधारको यो कदम चालेको हो।

सेवा संस्कृतिमा सुधार र बिदाको दिन पनि सेवा

उक्त लामो प्रतीक्षाको अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने विशेष अभियान सुरु गरेको थियो। यस प्रयासबाट सेवाग्राहीको अत्यधिक चाप घटेसँगै अहिले राष्ट्रिय परिचयपत्रसम्बन्धी अधिकांश काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

“हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा नयाँ कार्यसंस्कृति नै विकास गर्‍यो,” प्रजिअ पोखरेलले भने, “अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।”

सप्ताहन्तमा पनि सेवा निरन्तरता र बिचौलियामाथि निगरानी

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। सो कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन सक्ने व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा कुनै पनि किसिमको अतिरिक्त शुल्क तिर्न नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा तुरुन्त कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ। केही दिनअघि अतिरिक्त रकम असुल्ने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाहीसमेत गरिएको कार्यालयले जनाएको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।