१३ मंसिर २०८३ ☀️ २१°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको चुक्ता पुँजी पाँच अर्ब पुर्‍याइने, राष्ट्र बैंकद्वारा रिजोलुसन रणनीति पारित

वित्तीय अपचलनमा संलग्न संस्थापकहरूको स्वामित्व एक प्रतिशतमा सीमित गर्दै बैंकको पुनर्संरचना तथा पुनर्पुँजीकरण योजना अघि सारिएको छ।

सेयर:

वित्तीय अपचलनमा संलग्न संस्थापकहरूको स्वामित्व एक प्रतिशतमा सीमित गर्दै बैंकको पुनर्संरचना तथा पुनर्पुँजीकरण योजना अघि सारिएको छ।

📌 मुख्य बुँदाहरू:

  • नेपाल राष्ट्र बैंक सञ्चालक समितिद्वारा ‘कर्णाली डेभलपमेन्ट बैंक रिजोलुसन रणनीति, २०८३’ पारित गरिएको छ।
  • अपचलनमा संलग्न संस्थापक तथा सञ्चालकहरूको सेयर स्वामित्व घटाएर एक प्रतिशतमा सीमित गरिनेछ, जसले बैंकको कायम चुक्ता पुँजी २९ करोड एक लाख चार हजार १६० रुपैयाँमा झर्नेछ।
  • बैंकको अधिकृत पुँजी ६० करोडबाट बढाएर पाँच अर्ब रुपैयाँ पुर्‍याउने र नयाँ स्वदेशी तथा विदेशी लगानीकर्ता भित्र्याउने लक्ष्य लिइएको छ।
  • पाँच लाख रुपैयाँभन्दा बढी निक्षेप भएका व्यक्तिगत निक्षेपकर्ताले स्वेच्छिक रूपमा संस्थापक सेयरमा लगानी गर्ने अवसर पाउनेछन्।

वित्तीय अपचलन, आर्थिक अनियमितता र कमजोर आन्तरिक सुशासनका कारण लामो समयदेखि समस्याग्रस्त बनेको कर्णाली डेभलपमेन्ट बैंकलाई पुनः सञ्चालनमा ल्याउने उद्देश्यले नेपाल राष्ट्र बैंकले स्वामित्व संरचना परिवर्तनसहितको बृहत्त पुनर्पुँजीकरण योजना अघि बढाएको छ। सम्पत्ति र दायित्वबीच ठूलो अन्तर देखिएपछि बैंकलाई खारेजी गर्ने वा पुनर्संरचना गरेर अघि बढाउने भन्ने अन्योलका बीच केन्द्रीय बैंकले नयाँ रणनीति कार्यान्वयन गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार राष्ट्र बैंकको सञ्चालक समितिले हालै ‘कर्णाली डेभलपमेन्ट बैंकको रिजोलुसन रणनीति, २०८३’ पारित गरेको छ। यस रणनीतिमार्फत बैंकमा देखिएको जटिलता अन्त्य गर्दै यसको कानुनी तथा वित्तीय संरचनामा व्यापक फेरबदल गर्न लागिएको हो।

सेयर स्वामित्व कटौती र पुँजी विस्तारको योजना

हाल बैंकको अधिकृत पुँजी ६० करोड रुपैयाँ तथा जारी र चुक्ता पुँजी ५० करोड २८ लाख ३० हजार रुपैयाँ रहेको छ। तर, वित्तीय अपचलनमा संलग्न संस्थापक सेयरधनी तथा सञ्चालकको स्वामित्वमा रहेको २१ लाख ३६ हजार ६१ कित्ता संस्थापक सेयर र १२ हजार ६८५ कित्ता साधारण सेयरलाई साविकको एक प्रतिशतमा मात्र सीमित गर्ने निर्णय गरिएको छ। यसरी स्वामित्व ९९ प्रतिशतले कटौती हुँदा बैंकको कायम हुने चुक्ता पुँजी २९ करोड एक लाख चार हजार १६० रुपैयाँमा झर्नेछ।

केन्द्रीय बैंकको यस कदमले बैंकमा अनियमितता गर्नेहरूको प्रभाव र नियन्त्रण कमजोर बनाउने तथा उनीहरूले भविष्यमा अनुचित लाभ लिन नपाउने अवस्था सिर्जना हुने अपेक्षा गरिएको छ। स्वामित्व कटौतीपछि बैंकको चुक्ता पुँजीलाई बढाएर पाँच अर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य राखिएको छ। त्यसका लागि हालको अधिकृत पुँजीमा चार अर्ब ४० करोड रुपैयाँ थपिनेछ।

निक्षेपकर्तालाई लगानीको अवसर र नयाँ लगानीकर्ताको प्रवेश

पुनर्संरचना पश्चात् कायम हुने कुल पुँजीको ६० प्रतिशत संस्थापक सेयर रहने व्यवस्था गरिएको छ, जसअनुसार करिब दुई अर्ब ६४ करोड ६३ लाख रुपैयाँ बराबरको संस्थापक सेयर नयाँ लगानीकर्तामार्फत परिचालन गरिनेछ। यसका लागि पहिलो चरणमा स्वदेशी लगानीकर्तालाई आह्वान गरिने र स्वदेशी पुँजी अपुग भएमा मात्र विदेशी लगानीकर्ता भित्र्याइने नीति लिइएको छ।

यसका साथै, बैंकका ठूला निक्षेपकर्तालाई समेत पुनर्पुँजीकरणमा सहभागी गराउने विकल्प दिइएको छ। रणनीतिअनुसार पाँच लाख रुपैयाँभन्दा बढी निक्षेप भएका व्यक्तिगत निक्षेपकर्ताले आफ्नो निक्षेपको अधिकतम ५० प्रतिशतसम्म रकम संस्थापक सेयरमा स्वेच्छिक रूपमा लगानी गर्न सक्नेछन्। यसका लागि ८५ लाख कित्ता सेयर छुट्याइएको छ। निक्षेपकर्ताले गरेको उक्त लगानीलाई कानुनबमोजिम सर्वसाधारण सेयर समूहमा परिणत गर्न सकिने सुविधाओ दिइएको छ। यी सम्पूर्ण प्रक्रियाबाट पनि पुँजी अपुग भएमा बाँकी रकम सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गरेर जुटाइने राष्ट्र बैंकले जनाएको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।