१३ मंसिर २०८३ ☀️ २१°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड

काठमाडौं उपत्यकाको खानेपानी र ढल सुधारका लागि एडीबीद्वारा ५ करोड डलर ऋण स्वीकृत

एसियाली विकास बैंकले काठमाडौं उपत्यकाको खानेपानी तथा ढल व्यवस्थापन प्रणाली सुधार गर्न ७ अर्ब रुपैयाँ ऋण र प्राविधिक सहायता अनुदान उपलब्ध गराउने भएको छ।

सेयर:

एसियाली विकास बैंकले काठमाडौं उपत्यकाको खानेपानी तथा ढल व्यवस्थापन प्रणाली सुधार गर्न ७ अर्ब रुपैयाँ ऋण र प्राविधिक सहायता अनुदान उपलब्ध गराउने भएको छ।

📌 मुख्य बुँदाहरू:

  • एसियाली विकास बैंक (एडीबी) द्वारा काठमाडौं उपत्यकाको खानेपानी तथा ढल व्यवस्थापन प्रणाली सुधार गर्न ५० मिलियन अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ) ऋण स्वीकृत।
  • सुधार कार्यक्रम कार्यान्वयनका लागि एडीबीले ७ लाख ५० हजार अमेरिकी डलर प्राविधिक सहायता अनुदानसमेत उपलब्ध गराउने।
  • कार्यक्रमले खानेपानी तथा ढल सेवासम्बन्धी संस्थागत संरचना सुदृढीकरण, सेवा प्रदायक संस्थाको कार्यक्षमता अभिवृद्धि र सेवा प्रवाह सुधारलाई प्राथमिकता दिने।

काठमाडौं उपत्यकाको खानेपानी तथा ढल व्यवस्थापन प्रणालीलाई सुधार गर्न एसियाली विकास बैंक (एडीबी) ले ५० मिलियन अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ) ऋण स्वीकृत गरेको छ। एडीबीले बिहीबार स्वीकृत गरेको ‘काठमाडौं उपत्यका खानेपानी क्षेत्र सुधार कार्यक्रम’ को पहिलो चरणअन्तर्गत उक्त ऋणका साथै सुधार कार्यक्रम कार्यान्वयनका लागि ७ लाख ५० हजार अमेरिकी डलर प्राविधिक सहायता अनुदानसमेत उपलब्ध गराउने भएको छ।

यो कार्यक्रमले खानेपानी तथा ढल सेवासम्बन्धी संस्थागत संरचना सुदृढीकरण, सेवा प्रदायक संस्थाको कार्यक्षमता अभिवृद्धि र सेवा प्रवाह सुधारलाई मुख्य प्राथमिकतामा राखेको छ। उपत्यकाको खानेपानी क्षेत्रमा लामो समयदेखि संस्थागत जिम्मेवारी विभाजित हुनु, सेवा प्रदायक संस्थाको व्यावसायिक तथा वित्तीय कार्यसम्पादन कमजोर रहनु, फोहोर पानी प्रशोधनका लागि पर्याप्त पूर्वाधार नहुनु र एकीकृत योजना तथा विकासको अभाव रहनु प्रमुख समस्याका रूपमा रहँदै आएका छन्।

संस्थागत सुधार र एकीकृत सेवा प्रवाहको लक्ष्य

एडीबीको यस कार्यक्रमले उपत्यकाका संरचनागत समस्याहरूलाई सम्बोधन गर्दै खानेपानी तथा ढल व्यवस्थापनसम्बन्धी निकायहरूको संस्थागत एकीकरण र समन्वयलाई अघि बढाउने लक्ष्य लिएको छ। यसबाट खानेपानी क्षेत्रको शासन प्रणाली, जवाफदेहिता र कार्यक्षमता सुधार गरी दिगो तथा नागरिककेन्द्रित सेवा प्रवाहको आधार तयार हुने एडीबीले जनाएको छ। यसले उपत्यकाको खानेपानी सेवा प्रदायक संस्थालाई आधुनिक, आर्थिक रूपमा आत्मनिर्भर र प्रभावकारी संस्थाका रूपमा विकास गर्न सरकारलाई सहयोग पुर्‍याउनेछ।

एडीबीका नेपालका लागि आवासीय निर्देशक अर्नाउड कोच्वाका अनुसार भरपर्दो र दिगो खानेपानी तथा ढल सेवा सार्वजनिक स्वास्थ्य, आर्थिक वृद्धि र नागरिकको जीवनस्तरका लागि आधारभूत आवश्यकता हो। उनले यो कार्यक्रमले खानेपानी पूर्वाधारमा भइरहेको लगानीलाई संस्थागत सुधारसँग जोड्दै सेवा प्रदायक संस्थाको कार्यक्षमता बढाउने र जलवायु परिवर्तनका कारण उत्पन्न हुने जोखिम सामना गर्ने क्षमता अभिवृद्धि गर्ने बताएका छन्।

दुई चरणमा कार्यान्वयन हुने योजना

उक्त कार्यक्रम दुई चरणमा कार्यान्वयन गर्ने संरचना बनाइएको छ। पहिलो चरणले खानेपानी क्षेत्रका लागि एकीकृत शासकीय संरचना र नियामकीय प्रणालीको आधार तयार गरेको छ भने दोस्रो चरणमा त्यसलाई व्यवहारमा कार्यान्वयन गर्दै संस्थागत सुधारलाई स्थायी बनाउने लक्ष्य राखिएको छ।

सन् २०३० सम्ममा कार्यक्रमले काठमाडौं उपत्यकाको खानेपानी सेवा प्रदायक संस्थाको सञ्चालन, प्रशासनिक तथा वित्तीय कार्यसम्पादनमा उल्लेख्य सुधार ल्याउने अपेक्षा गरेको छ। यसले सहरी जीवनयापन सहज बनाउने, वातावरणीय दिगोपन कायम गर्ने, खानेपानीको गुणस्तरसम्बन्धी मापदण्ड पालना गराउने तथा उपभोक्ताका गुनासा र आवश्यकताप्रति संस्थाको जवाफदेहिता सुदृढ गर्ने विश्वास लिइएको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।