कालोबजारी गर्ने इटहरीका दुई औषधी पसललाई कारबाही

इटहरी ,वैशाख २९ । कोरोना महामारीको बेला स्वास्थ्य सामाग्री मास्क र सेनिटाइजरमा कालोबजारी गर्ने इटहरीका दुई औषधी पसललाई कारबाही गरिएको छ ।

मंगलबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय सुनसरी, इटहरी उपमहानगरपालिका, इलाका प्रहरी कार्यालय इटहरीसहितको संयुक्त टोलीले इटहरीका औषधी पसलमा अनुगमन गर्दा कालोबजारी गरेको पाइएको हो ।

उपभोक्ता संरक्षण कार्यालयका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलका अनुसार इटहरीका ३ वटा औषधी पसलमा अनुगमन गर्दा दुईवटाले कालोबजारी गर्ने गरेको र ती पसललाई जरिवाना तिराइएको छ ।

इटहरीको बिबिता सर्किजल हाउस र होम्ताङ आयुर्वेदिक औषधालय पोलिक्लिनिकले कालोबजारी गरेको पाइएपछि कारबाहीस्वरुप जरिवाना तिराइएको उनले बताए ।

उनका अनुसार अनुगमनको क्रममा बजार मूल्यभन्दा बढी मूल्यमा सेनिटाइजर बिक्री गरेको भन्दै अनुचित व्यापारिक क्रियाकलाप कसूरमा बिबिता सर्जिकल हाउसलाई कारबाही गरिएको छ । उक्त मेडिकल पसलले भारतमा उत्पादन भएको सेनिटाइजर इटहरी ल्याएर एक सय प्रतिशतभन्दा बढी नाफा राखेर बिक्री गरेको पाइएपछि दुई लाख रुपैँया जरिवाना तिराइएको छ ।

‘सेनिटाइजरको थोक बिक्रेता रहेको बिबिता सर्जिकल हाउसले भारतीय बजारबाट ३९ रुपैयाँमा खरिद गरेर ८० रुपैयाँमा बिक्री गरेको भेटिएपछि कारबाही गरिएको हो,’ पोखरेलले भने, ‘उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारबाही गरी नगद दुई लाख जरिवाना गरेका छौँ ।’

उनका अनुसार कम्पनीको नाम एउटा भएपनि फरक–फरक नाम राखेर बिल बिजक गर्ने गरेको, कम्पनी होलसेल तथा सप्लायर्स भनेपनि खुद्रा मूल्यमा अधिकतम नाफा राखेर सेनिटाइजर बिक्री गर्ने गरेको भन्दै होम्ताङ्ग औषधालय पोलिक्लिनिकलाई कारबाही गरिएको छ । त्यस मेडिकललाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार बिल बिजक जारी नगरेको कसुरमा ३० हजार रुपैँया जरिवाना तिराइएको पोखरेलले जानकारी दिए ।

यस्तै इटहरी मेडिकल हलले खरिद र बिक्री मूल्यबीचको अन्तर कानुन बमोजिम २० प्रतिशत राखेकाले कुनै कारबाही नगरिएको पोखरेलले बताए ।

यसअघि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान अगाडि रहेका औषधी पसलमा अनुगमन गरी कालोबजारी गर्ने व्यापारीलाई कारबाही गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.