विराटनगर, जेठ २२: सप्तकोशी नदीमा मधेश प्रदेशस्तरीय विपद् प्रतिकार्य पूर्व अभ्यासका क्रममा सशस्त्र प्रहरी बल, नेपालका दुईजना जवान बेपत्ता भएका छन्। कोशी ब्यारेज क्षेत्रमा बुधबार (आज) दिउँसो भएको घटनामा उनीहरू बेपत्ता भएका हुन्।
सशस्त्र प्रहरी बल, नेपालका केन्द्रीय प्रवक्ता डिआईजी कालिदास धौवाजीले सशस्त्र प्रहरी जवान सरोज साउद र हरिदेव राजबंशी बेपत्ता भएको जानकारी दिएका छन्। उनीहरू असार २४ गते २ नम्बर बाहिनीले आयोजना गर्ने कार्यक्रमका लागि ‘सिमुलेशन’ (पूर्व अभ्यास) गर्दै थिए। “सिमुलेशनका लागि पूर्व अभ्यास गर्दै थिएछन्, त्यही क्रममा दुईजना बेपत्ता भएको घटना विवरण छ,” डिआईजी धौवाजीले भने, “खोजी कार्य भइरहेको छ।”
सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले घटना भएलगत्तै खोजी कार्य तीव्र पारिएको जानकारी दिएका छन्। सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालयले मधेश प्रदेशस्तरीय उक्त कार्यक्रम आयोजना गरेको थियो। बेपत्ता भएकामध्ये साउद शिक्षालयकै हुन् भने राजबंशी दुई नम्बर बाहिनी अन्तर्गतका हुन्।
स्थानीय एक युवाका अनुसार, कोशी ब्यारेजको सप्तरीतर्फको ५६औँ ढोका नजिक यो घटना भएको हो। घटनापछि अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ र बेपत्ता जवानहरूको खोजी कार्य जारी छ।




















