📌 मुख्य बुँदाहरू:
- रसुवा–भोटेकोशी बाढीबाट प्रभावित परिवारहरू काठमाडौँ उपत्यकाका विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिन बाध्य छन्।
- चाडपर्वको चहलपहलबीच पीडितहरू आफन्त गुमाएको पीडਾ र आगामी जाडोयाम कसरी बिताउने भन्ने चिन्तामा छन्।
- स्वयम्भुको मुस्ताङ गुम्बामा मात्रै गोसाईकुण्ड गाउँपालिकाका चार सयभन्दा बढी बाढीपीडित अझै बसोबास गरिरहेका छन्।
काठमाडौँ, कात्तिक ३ गते। रसुवा–भोटेकोशी बाढीबाट प्रभावित परिवारहरू काठमाडौँ उपत्यका अन्तर्गतका विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएका छन्। गत भदौ १० गते आएको बाढी पश्चात् उनीहरुले होल्डिङ सेन्टरमा दिन कटाएको झण्डै दुई महिना बित्न लागेको छ र देशभर दसैँको चहलपहल चलिरहँदा उनीहरु भने जाडोयाम कसरी बिताउने भन्ने पीरमा छन्।
काठमाडौँको स्वयम्भु क्षेत्रमा रहेको मुस्ताङ गुम्बामा रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर २ को एकसय ५४ घरधुरीका चार सयभन्दा बढी पीडित बस्दै आएका छन्। मुस्ताङ गुम्बाका सम्पर्क व्यक्ति पेमा दोर्जेका अनुसार यस वर्ष उनीहरूले कुनै चाडपर्व मनाएका छैनन्। सबैका आफन्त कोही बेपत्ता भएका छन् भने कोही बितेका छन् र उनीहरुको नाममा धूपबत्ती बाल्ने काम मात्र जारी रहेको छ। उहाँले जाडोयाम सुरु भएलगत्तै होल्डिङ सेन्टरमा बस्दै आएका बालबालिका तथा वृद्धवृद्धालाई थप असहज हुने चिन्ता व्यक्त गर्नुभयो।
अन्य क्षेत्रका पीडितहरूको अवस्था
यसैबीच, स्वयम्भु भगवानपाउ क्षेत्रमा रहेको नुब्री समाजले भोटेकोशी बाढीका तीनसय जनालाई व्यवस्थापन गर्दै आएको थियो। नुब्री समाजका अध्यक्ष छेवाङ लामाले भगवानपाउ परिसरमा रहेको होल्डिङ सेन्टरबाट केही दिनअघि मात्रै सबै जना आ–आफ्नो स्थानमा फर्किएको जानकारी दिनुभयो।
लामाका अनुसार दसैँ लागेसँगै गत असोज २० गते सो होल्डिङ सेन्टरमा बस्दै आएका पीडितहरु कोही आफ्नो बासस्थानमा त कोही आफ्ना आफन्तकोमा गएका छन्। पहिला बाटो नभएको र गाउँ जाने बाटो खुलेपछि कतिपय गाउँ फर्किएको तथा त्यहाँ खाना खुवाइरहेको संस्थासँगको सम्झौताको म्याद पनि सकिएको उहाँको भनाइ छ।
यता, सुन्दरीजल बीपी चोकमा अवस्थित होल्डिङ सेन्टरमा भने रसुवाको आमाछोदिङ्मो गाउँपालिका वडा नं. १ हाकुबेसीका ६८ घरधुरीका सयौँको सङ्ख्यामा बाढी पीडितहरू अझै पनि आश्रय लिइरहेका छन्।
📄 प्रेस विज्ञप्ति / सूचना

























