३ चैत, मेचीनगर : आफूहरूले जानेको सीप प्रयोग गरी तयार पारिएका सामग्रीलगायतका हस्तकलाका सामग्री नबिक्दा झापा मेचीनगरका उद्यमीहरु चिन्तित बनेका छन् । सरकारी वा गैरसरकारी निकायमा रोजगार नभएका तथा घरभित्रको जिम्मेवारी सम्हालेका मेचीनगरका अधिकांश महिला व्यवसायिक सीप तथा तालिमतर्फ आकर्षित भएका छन् । तर सीपमार्फत उत्पादित सामग्रीहरूले बजार नपाएपछि अधिकांशले व्यवसाय छोडेका छन् भने धेरैको उद्यमीको लगानी संकटमा परेको छ ।
सामान विक्रीबाट प्राप्त रकमले आफ्नो खर्च धानिरहेकोमा अहिले विक्रीमा गिरावट आउँदा पीडा थपिएको उनीहरुको भनाई छ । मेचीनगरका थुप्रै महिलाहरुले विभिन्न सामग्री निर्माण गरेर आम्दानी गदैं आएका छन् । पछिल्लो समय बढ्दो आधुनिकतासँगै आफूले तयार गरेका सामग्रीले बजार नपाउँदा भने उनीहरुको व्यवसाय संकटमा परेको हो । पछिल्लो समय हस्तकला उद्योग बढे पनि बजार अभावका कारणले पनि घरेलु उद्योगबाट उत्पादित सामग्रीहरू बिक्री हुन सकेका छैनन् ।
सोचे अनुसार सामान विक्री नभएपछि धेरैजनाले व्यवसाय नै परिवर्तन गर्ने अवस्थामा पुगेको झापा मेचीनगर—८ का लक्ष्मी धिमालको भनाई छ । उनको भने जेनतेन चलिरहेको र मागका आधारमा सामान तयार गर्ने गरेको सुनाउँछिन् । बेलाबखत लिएको तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतारे पछि धिमालमा आत्मनिर्भरता मात्र बढाएको थिएन उत्तिकै आत्मसम्मान पनि थियो । स्थानीय सरकारी र गैरसरकारी क्षेत्रबाट सिलाई कटाई, प्लाष्टिकको झोला बनाउने, मकैको खोसेलाबाट विभिन्न फूल बनाउने, दुबोको माला बनाउने, परालको जुत्ता चप्पल बनाउने जस्ता तालिम नगरका वर्षेनी एकसय भन्दा बढी महिलाले लिने गरेका थिए ।
कपडा तथा रेग्जिनका व्याग झोला बनाउने आधारभूत तालिम एकमहिने र ‘एडभान्स’ तालिम १५ दिने लिए पछि धिमालले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मेचीनगर नगरपालिकाको प्राविधिक सहयोगमा ‘लिजा एण्ड एमी व्याग झोला लघु उद्यम’ नै सञ्चालन गरेकी थिईन् लक्ष्मीले । जहाँ कपडा तथा रेग्जिनका व्याग झोला तयार हुन्छ । यो उद्योग सञ्चालनमा ल्याएदेखि उनीमा आत्मानिर्भर मात्र होईन् आत्मासम्मान पनि बढेको थियो । आफूले उत्पादन गरेको सामानले भने जस्तो बजार नपाएपछि, धेरै उद्यमीहरूले पेशा नै छाड्ने अवस्थामा पुगेको लक्ष्मीको भनाई छ । कच्चा पदार्थ महंगोमा खरीद गरेर सामान उत्पादन गरी सस्तोमा बेच्न नसक्ने भन्दैं उनले भनिन् ‘खरीदकर्ताहरु सस्तोमा सामान खोज्ने नपाए फर्केर जाने गरेका छन् ।’
धिमाल त एक उदाहरणीय पात्र मात्रै हुन । नगरपालिकाले सञ्चालन गरेको विभिन्न सीपमुलक तालिम प्राप्त गर्ने अधिकांशले रोजागारी पाएका छन् भने केहीले आफै उद्यम स्थापना गरेका छन् । ‘कतिपय उद्यमीहरूको एउटै गुनासो हुन्छ, हामीले सामान त बनाउँछौ तर कहाँ लगेर बेच्ने भन्ने अन्यौल हुन्छ ’ मेचीनगरकी आरती राजवंशीले भनिन्—‘उद्यमीहरूलाई बजारको अभाव नहोस्, सामानहरू बिक्री बितरण गर्न सजिलो होस् भन्ने उद्देश्य राखेर सम्बन्धित निकायले ठोस कदम चाल्नुपर्छ ।’ अहिले धेरैजना महिलाले विभिन्न तालिम लिए पश्चात आत्मनिर्भर बन्ने बाटोमा लागेका भएपनि उत्पादित सामग्रीले बजार नपाउँदा निराश बनेको उनको गुनासो छ ।
बिदेशबाट आयातित सामग्रीहरू गाउँघरमा मात्र नभएर शहरभरि छ्याप्छ्यप्ती पाउन थालेपछि हस्तकला व्यवसाय धरापमा पर्न थालेको नगरका उद्यमीहरुको भनाई छ । तर, आफुले बजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय सामान उत्पादन गर्ने हो भने राम्ररी बजार पाउने, माग धान्न समेत नसक्ने अवस्था सिर्जना हुने उद्यमी लक्ष्मीको भनाई छ । धेरैजसो हस्तकलाका सामान बनाउने उद्यमीहरूले गुणस्तरमा ध्यान नदिन समस्या आउने गरेको उनको भनाई छ । धेरैजसो हस्तकलाका सामान बनाउने उद्यमीहरूले व्यवसायीक रुपमा अघि बढेपछि त्यो समानको उचित बजार नपाएर समस्यामा पर्ने गरेको पाइन्छ ।
उद्यमी झापा मेचीनगर– ११ की देवका भण्डारीले सीप र क्षमता भएर पनि आफ्ना उत्पादनले बजार नपाउँदा समस्या भएको बताइन् । बजारमा बाहिरबाट आएका सामग्रीसँग प्रतिस्पर्धा गर्न नसक्नु घरेलु उद्योगलाई चुनौति भएको उनको भनाई छ । घरेलु उत्पादनमा प्रविधिको प्रयोग गर्दै गुणस्तरीय सामाग्री उत्पादन हुन नसक्दा पनि घरेलु तथा साना उद्योगहरू धरापमा परेको सरोकारवालाहरुको भनाई छ ।
‘उद्यमी बन्नका लागि तालिम लिएँ ’ रन्जु कार्कीले भनिन्—‘तालिम लिएर आफ्नै घरमा कपडा तथा रेग्जिनका व्याग झोला बुन्छु । सोचे अनुसार बिक्री गर्न बजार नपाएपछि निकै समस्या परेको छ, ‘स्थानीय तहले हस्तकलालाई बजार व्यवस्थापन गरिदिए आफू जस्ता महिलालाई आयआर्जनमा सजिलो हुने थियो ।’ सीपमूलक तालिमका लागि सरकारले वार्षिक लाखौँ रुपैयाँ खर्च गर्ने गरेको छ । सरकारले ठूलो लगानी गरे पनि दीर्घकालीन सोच र शैली नमिल्दा घरेलु उद्योगमा स्वरोजगार प्रभावकारी बन्न नसकेको स्वयम् उद्यमीहरु बताउँछन् । नयाँ प्रविधिका साथ हस्तकलाका सामग्री उत्पादनलाई बढवा दिन सकेमा व्यवसाय संकटमा नपर्ने भन्दैं अर्की उद्यमी सरला कार्की भन्छिन् ‘हस्तकलाका सामग्रीको प्रवद्र्धनका लागि सरकारी निकायको चासो र अनुगमन कडा देखिनुपर्छ । ’
जसलाई साँच्चिकै आवश्यकता हुन्छ तिनीहरूले तालिमपछि व्यवसाय गरेको मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीको भनाई छ । महिलालाई आत्मनिर्भर तथा महिला शसक्तिकरण गर्न चेतनाको विकास गराउँदै व्यापक रुपमा तालिमको आवश्यकता महशुस गरी स्थानीय सरकारले व्यवसायिक रुपमा लाग्ने गरी बेलाबखत तालिम सञ्चालन गर्ने गरेको उपप्रमुख उप्रेतीको भनाई छ ।