काँकरभिट्टा | नेपालका पूर्वी पहाडी जिल्लामा उत्पादित जडीबुटीहरुको माग पछिल्लो समय भारतमा निक्कै बढेको छ । माग बढेसँगै पूर्वीनाकाबाट जडीबुटी निर्यातमा समेत बृद्धि भएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ ।
गत आर्थिक वर्ष २०७६/२०७७ मा काँकरभिट्टा नाका भएर ३ करोड १३ लाख ७२ हजार रुपैयाँ मुल्य बराबरको ३ सय १ केजी जी विभिन्न खालका जडीबुटी निर्यात भएको सरकारी तथ्याङ्क छ । जडीबुटी निर्यात वापत प्रतिकेजी १ रुपैयाँ महसुल वाहेक अन्य सवै छुट भएको मेची भन्सार कार्यालय कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिए ।
यो नाका भएर विशेष गरी चिराइतो, रिठ्ठो, पदमचाल, सतवरी, मजेठोजातका नेपाली जडीबुटी भारततर्फ निर्यात हुने गरेको भन्सार अधिकारीहरुको भनाई छ । अघिल्लो आर्थिक वर्ष २०७५/२०७६ मा यो नाका भएर १ करोड ९२ लाख ५५ हजार वा २ सय २९ केजी जडीबुटी निकासी भएको थियो । जुन निकासी आर्थिक वर्ष २०७६/२०७७ को तुलनामा १ करोड २१ लाख १७ हजार रुपैयाँले निर्यात बढेको हो । पछिल्लो समय भारतमा नेपाली जडीबुटीको मागबढेसँगै निर्यातमा समेत बृद्धि भएको भन्सार अधिकारीहरुको भनाई छ ।