लक्ष्मी उप्रेती
४ भदौ, मेचीनगर : झापाको मेचीनगर –१ मा अवस्थित ऐतिहासिक एवम् धार्मिक पर्यटकीय स्थल कृष्णथुम्कीमा आगामी भदौँ १९ देखि २० गतेसम्म त्रिदिवशिय धार्मिक एवम् साँस्कृितक तथा दोस्रो कृष्ण रथयात्रा हुने भएको छ ।
श्री कृष्णथुम्की विकास समिति तथा कृष्णजन्मास्टमी कार्यक्रम आयोजक समितिले आज झापाको मेचीनगर-६ काँकरभिट्टामा पत्रकार सम्मेलनमार्फत यो जानकारी गराएको हो ।
कृष्णजन्मअष्टमीको अवसर पारेर आयोजित कार्यक्रम अनुसार १८ गते विभिन्न विद्यालयहरू र विभिन्न समुदायबाट विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत , १९ गते सम्मान तथा भजन किर्तन साथै धार्मिक प्रवचन, साँझमा अखण्ड पाठ तथा सध्या आरती र अन्तिम दिन २० गते अखण्ड भागवत पाठ समापन र कृष्ण रथ यात्राका साथ सम्पूर्ण कार्यक्रम समापन हुने पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष हिम्मत क्षेत्रीले बताए ।
यस समितिले यसअघि बाहुनडाँगी बजारबाट कृष्णथुम्कीसम्म रथ यात्रा गरेको थियो भने, दोस्रो पटक आयोजना गर्न लागेको रथयात्रा मेचीनगर-०६ काँकरभिट्टाबाट कृष्णथुम्कीसम्मको करीव २१ किलोमिटर दुरी तय गरेको छ ।
पत्रकार सम्मेलनमा पंण्डित आचार्य गोपालशरण निरौलाले कृष्णथुम्की पुर्वकै ऐतिहासीक धार्मिक एवम पर्यटकयि स्थल रहेकाले साँस्कृतिक धरोहरका रुपमा यसक्षेत्रलाई लिनुपर्नेमा जोड दिए । कृष्ण थुम्की महाभारतकालीन पौराणिक मान्यता र प्राकृतिक सौन्दर्यलेयुक्त एक प्रमुख ऐतिहासिक, धार्मिक तथा पर्यटकीय तीर्थस्थलका रुपमा विकास हुँदै गएको भन्दै यसक्षेत्रको विकास प्रवद्र्धन तथा प्रचार प्रसारमा सवैक्षेत्र लाग्नुपर्ने बताए ।
आयोजक संस्थाका अध्यक्ष क्षेत्रीले पत्रकार सम्मेलनमा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहु–सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता भएको मुलुक भएकाले कार्यक्रममा विभिन्न जाति -जातिहरु आफ्नो कला, संस्कृति र पहिचान झल्किने भेषभुषामा झाँकी र व्यानरसहित उपस्थित हुने जानकारी गराए । कार्यक्रममा आ- आफ्नो संस्कृति, धर्म, धार्मिक तथा सुन्दर पर्यटन पहिचनका लागि पनि उल्लेखीय सहभागिता हुने अध्यक्ष क्षेत्रीले विश्वास व्यक्त गरे ।

द्वापर युगमा भगवान श्री कृष्णले यस स्थानमा गाई चराएको हुनाले यस स्थानको नाम कृष्ण थुम्की रहन गएको किम्बदन्ती छ । झापा जिल्लाको सुदुर उत्तर–पूर्वी मेचीनगर १ मा पर्ने मेची नदी र सिद्धी नदीको संगममा रहेको कृष्णथुम्की धार्मिक एवम् ऐतिहासीक दृष्टिकोणले अयन्तै महत्वपूर्ण छ । वरिपरि समथर जमिन रहेको स्थानमा भरेको पाथी जस्तो चुलिएर बसेको कृष्णथुम्कीलाई द्वापर युगमा भगवान श्री कृष्णले गाई चराएको ठाउँ भएको विश्वास गर्ने गरिएको समितिका पूर्व अध्यक्ष महेन्द्र मल्लले जानकारी दिए ।
कृष्णथुम्कीमा एउटा चेप्टो ढुङ्गामा मानव र गाईको पद चिन्ह अंकित छ । कृष्णथुम्कीमा कृष्णथुम्की र अन्य ५ वटा थुम्की समेत जम्मा ६ वटा थुम्कीहरु रहेका छन् । यहाँ रहेको कृष्णथुम्कीवाहेक अन्य ५ वटा थुम्कीहरुलाई पाँच पाण्डवको प्रतिकको रुपमा लिने गरिएको पाईन्छ । यी थुम्कीहरुबाट झापा जिल्लाको अधिकांश क्षेत्र र भारतको केही क्षेत्रको दृश्यावलोकन समेत गर्न सकिने पत्रकार सम्मेलनमा मनसादेवी ४९ धारा समितिका अध्यक्ष समेत रहेका मल्लले जानकारी दिए ।
कृष्ण पादुका, शिला,साकेला थान बौद्धगुम्बा एउटैक्षेत्रमा अवस्थित धार्मिक सहिष्णुता सामाजिक सद्भाव साथ सबैको आस्थालाई सम्मान साथ यो पुर्वको धार्मिक पर्यटकिय स्थल समेत रहेको बताए ।
झापा जिल्लाको मेचीनगरमा पर्ने एक धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्न सके जिल्लाकै विकासमा टेवा पुग्ने मल्लले दाबी गरे । पत्रकार सम्मेलनमा पत्रकारहरुले राखेको जिज्ञशामा विभिन्न धार्मिक संघ संगठनका प्रमुख प्रतिनिधिहरुले जवाफ दिएका थिए ।


























