बाढीपछिको पुनर्निर्माण र जलवायु अनुकूलनमा सहयोग बढाउन एडीबीसँग आग्रह

कोप–३१ का अवसरमा टर्कीको अन्ताल्यामा भएको द्विपक्षीय भेटवार्तामा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी करिडोरको पुनर्निर्माणका लागि पाँच अर्ब अमेरिकी डलर आवश्यक रहेको बताउँदै एसियाली विकास बैंकसँग थप साझेदारीको माग गरेकी छिन्।

A notice in Nepali from Mechinagar Ward No. 10
कोप–३१ का अवसरमा मन्त्री गीता चौधरी र एडिबीका अधिकारीबीच द्विपक्षीय भेटवार्ता

📌 मुख्य बुँदाहरू:

  • भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनर्लाभ र पुनर्निर्माणका लागि करिब पाँच अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको छ।
  • कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले एडीबीसँग जलवायु उत्थानशील पूर्वाधार, सुरक्षित पुनर्वास र पूर्वसूचना प्रणालीमा थप सहयोगको आग्रह गरेकी छिन्।
  • नेपालले हानि तथा नोक्सानी प्रतिकार्य कोषबाट प्राप्त दुई करोड अमेरिकी डलर सहयोगप्रति आभार व्यक्त गर्दै अनुदानमा आधारित वित्तीय स्रोतको महत्व औँल्याएको छ।

नेपालले गत अगस्ट २६ को बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण, जलवायु उत्थानशील पूर्वाधार निर्माण तथा जलवायु अनुकूलनका कार्यक्रमका लागि एसियाली विकास बैंक (एडिबी) सँग थप सहयोगको माग गरेको छ। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) का अवसरमा टर्कीको अन्ताल्यामा भएको द्विपक्षीय भेटवार्तामा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले एडिबीका उपाध्यक्षलगायतका अधिकारीसँग थप साझेदारीको आग्रह गरेकी हुन्।

मन्त्री चौधरीले भोटेकोशी बाढीबाट बस्ती, सडक, पुल, जैविक विविधता तथा सांस्कृतिक सम्पदामा ठूलो क्षति पुगेको उल्लेख गर्दै प्रभावित क्षेत्रको पुनर्लाभका लागि करिब पाँच अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान रहेको जानकारी गराइन। उनले उक्त विपद्लाई जलवायु परिवर्तनबाट सिर्जित हानि तथा नोक्सानीको गम्भीर उदाहरणका रूपमा प्रस्तुत गर्दै भोटेकोशी करिडोरको पुनर्निर्माणमा एडिबीको सहयोग अपेक्षित रहेको बताइन्।

नेपाल अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुने प्रक्रियामा रहेको सन्दर्भ उल्लेख गर्दै मन्त्री चौधरीले जलवायु अनुकूलन र पुनर्लाभका लागि अनुदानमा आधारित वित्तीय स्रोतको महत्व औँल्याइन्। एडिबीलाई सम्भव भएसम्म अनुदान सहयोग बढाउन तथा सहयोग परिचालनका प्रक्रिया सरल र छिटो बनाउन उनले आग्रह गरिन्।

हरित तथा उत्थानशील वित्त सुविधा शीघ्र स्वीकृत गर्न जोड

मन्त्री चौधरीले हरित तथा उत्थानशील वित्त सुविधा शीघ्र स्वीकृत गर्न पनि जोड दिइन्। उक्त सुविधाअन्तर्गत स्थानीय समुदायको नेतृत्वमा सञ्चालन हुने जलवायु अनुकूलन कार्यक्रमका लागि अनुदानको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो। साथै नेपालको पर्वतीय लचिलोपन रणनीति तथा लगानी ढाँचा ‘लिभिङ सगरमाथा’ कार्यान्वयनमा साझेदारी गर्न उनले एडिबीलाई आमन्त्रण गरिन्।

नेपाल, भुटान र कीर्गिज गणतन्त्रले कोप–३१ मा पर्वतीय मुद्दालाई प्राथमिकताका साथ उठाइरहेको उल्लेख गर्दै मन्त्री चौधरीले पर्वतीय क्षेत्रको उत्थानशीलताका लागि एडिबीको निरन्तर नेतृत्वको स्वागत गरिन्। उनले नेपाल जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण तथा विश्व तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्यप्रति प्रतिबद्ध रहेको स्पष्ट पारिन्।

कोप–३१ मा नेपालको सहभागिता र आगामी चरण

भेटका क्रममा मन्त्री चौधरीले कोप–३१ मा नेपालको प्याभिलियन सञ्चालनका लागि एडिबीले गरेको सहयोगको प्रशंसा गरिन्। उक्त सहयोगबाट सरकार, विकास साझेदार, नागरिक समाज, प्रदेश तथा स्थानीय सरकार, समुदाय र युवाको सहभागितामा ५० भन्दा बढी कार्यक्रममार्फत नेपालको जलवायु प्राथमिकता अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर मिलेको उनको भनाइ थियो।

नेपालको विकास यात्रामा एडिबीले लामो समयदेखि प्रदान गर्दै आएको सहुलियतपूर्ण सहयोगप्रति आभार व्यक्त गर्दै उनले कोप–३१ पछि अर्थ मन्त्रालय र एडिबीको नेपाल आवासीय मिसनसहित सम्बन्धित टोलीबीच छलफल गरी प्रस्तावित सहयोगका विषय अघि बढाउन आग्रह गरिन्। कोप–३१ नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा सञ्चालन भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.