📌 मुख्य बुँदाहरू:
- नोभेम्बर मध्यतिर लियोनिड उल्कावृष्टि हुने तय गरिएको छ।
- डिसेम्बर महिनाको मध्यतिर दुई साताभन्दा बढी समय जेमिनिड्स उल्कावृष्टि देखिनेछ।
- एक घण्टामै ४० देखि ५० वटासम्म उल्कावृष्टि अवलोकन गर्न सकिनेछ।
तारा हेर्ने र अन्तरिक्षबारे चासो राख्नेहरूका लागि वर्षको अन्तिम महिनाहरू निकै रोचक र उत्कृष्ट मानिएका छन्। अक्टोबरमा अरियोनिड उल्कावृष्टि भइसकेको छ भने अब नोभेम्बर र डिसेम्बर महिनामा थप उल्कावृष्टिहरू अवलोकन गर्न पाइने भएको छ।
नोभेम्बर मध्यतिर लियोनिड उल्कावृष्टि हुने तय गरिएको छ भने डिसेम्बर महिनाको मध्यतिर दुई साताभन्दा बढी समयसम्म जेमिनिड्स उल्कावृष्टि देखिनेछ। यस अवधिमा आकाशमा कुनै बेला एकै घण्टामा ४० देखि ५० वटासम्म उल्कावृष्टि देख्न सकिने खगोलविद्हरूले बताएका छन्। सामान्यतया उल्काहरूलाई खस्ने तारा वा 'सुटिङ स्टार्स' पनि भन्ने गरिएको छ।
उल्कापिण्ड कसरी चम्किन्छन्?
अन्तरिक्षमा रहेका चट्टानका साना टुक्राहरू पृथ्वीको वायुमण्डलमा तीव्र गतिमा प्रवेश गर्दा जल्दै जाने भएकाले आकाशमा उज्यालो धर्सोजस्तो प्रकाश देखिने गर्दछ। युरोपेली अन्तरिक्ष निकाय (ईएसए) को प्लानेटरी डिफेन्स अफिसका प्रमुख रिचर्ड मोइसलका अनुसार वायुमण्डलमा प्रवेश गर्ने यी टुक्राहरूको आकार फरक-फरक हुने गर्दछ। जति ठूला आकारका टुक्राहरू हुन्छन्, आकाशमा त्यति नै बढी चम्किलो प्रकाश देखिने उनको भनाइ छ।




















